दयाहाङ र प्रकाशको ‘मिरमिरे’ माघ १ गते देशव्यापी प्रदर्शनमा आउने

दयाहाङ र प्रकाशको ‘मिरमिरे’ माघ १ गते देशव्यापी प्रदर्शनमा आउने

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । यम शेर्पाको निर्देशनमा तयार भइरहेको सिनेमा ‘मिरमिरे’ आगामी माघ १ गते देशभर रिलिज हुने भएको छ। निर्माणपक्षले अभिनेत्री सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर उक्त मितिमा प्रदर्शनको घोषणा गरेको हो । छायांकन सेटमै आयोजित सानो समारोहमार्फत् माघ १ लाई रिलिज मिति लक गरिएको जानकारी दिइएको छ ।

निर्देशक यम शेर्पाले भने, ‘हामीले माघ १ गते आउने निर्णय गर्‍यौँ। वितरक र प्रदर्शकसँगको सल्लाहमा यो मिति तय गरेका हौँ।’ हाल ‘मिरमिरे’ को छायांकन मकवानपुरको चित्लाङमा जारी रहेको छ । असार २१ गतेबाट सुरु भएको छायांकन करिब दुई सातामा सम्पन्न हुने निर्माण टिमको भनाइ छ । सिनेमाको अधिकांश भाग काभ्रेपलाञ्चोकमा छायांकन गरिएको हो भने केही दृश्य चित्लाङमा खिचिएका छन् ।

‘मिरमिरे’मा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा देखिनेछन् । दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो । निर्देशक यम शेर्पाको भने दयाहाङसँग दोस्रोपटक सहकार्य हो । यसअघि उनले निर्देशित ‘कार्साङ’मा पनि दयाहाङ राई मुख्य भूमिकामा थिए ।

सिनेमामा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायत कलाकारको पनि अभिनय रहनेछ। बाल-कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल रहेका छन् ।

यार्सा फिल्म्सको ब्यानरमा निर्माण भइरहेको ‘मिरमिरे’का निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन् । सह-निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन् । कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल रहेका छन् ।

सिनेमाका छायाकार आलोक शुक्ला, मुख्य सहायक निर्देशक सुदिप कुँवर, मेकअप सञ्जु थलाङ लिम्बु र निर्माण नियन्त्रक दिलीप पन्त रहेका छन् । लाइन प्रोड्युसरको भूमिकामा बिरेन्द्र शाही छन् । ‘मिरमिरे’को वितरणको जिम्मा रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।