द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले वनेपा नगरपालिकास्थित जनगलमा निर्माणाधीन अत्याधुनिक इन्डोर सिनेमा स्टुडियो ‘सिनेपा:’को दोस्रो चरणको निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । २०८२ साउन १८ गतेको गोरखापत्र दैनिकको पृष्ठ १० मा प्रकाशित सूचनामार्फत इच्छुक निर्माण कम्पनीहरूलाई ३० दिनभित्र ई-बिडिङ प्रणालीमार्फत प्रस्ताव पेश गर्न अनुरोध गरिएको हो ।
बोलपत्र अनुसार स्टुडियो निर्माणको ठेक्का पहिचान नम्बर FDB/Indoor Film Studio/W/NCB/01/2082-083 तोकिएको छ । यसमा सहभागी हुन चाहने कम्पनीहरूले ३६ लाख रुपैयाँको बोलपत्र सुरक्षा रकम र १० हजार रुपैयाँको दस्तावेज शुल्क बुझाउनु पर्नेछ । विस्तृत विवरण चलचित्र विकास बोर्डको वेबसाइट (www.fdbnepal.gov.np) र सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट (www.bolpatra.gov.np/egp) मा उपलब्ध छ ।
यसअघि, २०८१ माघ २७ गते पहिलोपटक टेन्डर आह्वान गरिएको थियो । बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार ‘सिनेपा:’ नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो इनडोर सुटिङ स्टुडियो हुनेछ, जुन सरकारी स्वामित्वमा बन्ने पहिलो सिनेमा स्टुडियो हो । यद्यपि निजी क्षेत्रले केही स्टुडियो स्थापना गरेका छन्, यो परियोजना राज्यको नेतृत्वमा बन्ने ऐतिहासिक प्रयास हो ।
करीब ४२ रोपनी क्षेत्रफलमा फैलिने यो स्टुडियोले स्वदेशी सिनेमा निर्माताहरूलाई प्रविधियुक्त, गुणस्तरीय र लागत-मैत्री छायांकन सुविधा प्रदान गर्ने विश्वास गरिएको छ । विगतमा योजना स्तरमा सीमित यो परियोजना हालै निर्माण चरणमा प्रवेश गरिसकेको छ ।
२०८२ वैशाख ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित आफ्नो सरकारी निवासमा आयोजित विशेष कार्यक्रममा सिनेपा: स्टुडियोको निर्माण आरम्भ भएको औपचारिक घोषणा गरेका थिए । कार्यक्रममा उनले भनेका थिए, ‘छ दशकअगाडिको सपना अब साकार हुँदैछ। राज्यसँग धेरै बजेट नभए पनि सुरु गरिएका कामहरू पूरा हुन्छन्। सिने क्षेत्रप्रति हाम्रो प्रतिबद्धता दृढ छ।’
सिनेपा: को निर्माणले नेपाली सिनेमा उद्योगमा दीर्घकालीन रूपमा आधुनिक पूर्वाधारको खाँचो पूर्ति गर्दै अन्तर्राष्ट्रिय मापदण्डको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया