‘जनै हराएको मान्छे’लाई लिएर आशावादी मिरुना मगर

‘जनै हराएको मान्छे’लाई लिएर आशावादी मिरुना मगर

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा उद्योगमा मिरुना मगरलाई भाग्यमानी अभिनेत्रीको रुपमा हेर्ने गरिन्छ । किनभने उनका अधिकांश सिनेमाहरू सफल सावित भएका छन् । विशेषगरी ‘कबड्डी ४ : फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ले मिरुनाको करिअरलाई नयाँ उचाइमा पुर्‍याएका थिए । यी तीन सिनेमाले बक्स अफिसमा राम्रो प्रदर्शन गर्दै मिरुनालाई ‘हिट ह्याट्रिक’ दिलाएका थिए ।

यसपटक भने मिरुनाको नजर दोस्रो हिट ह्याट्रिकमा छ । आगामी भदौ ६ गते रिलिज हुन लागेको सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ सफल भएमा उनले फेरि एकपटक हिट ह्याट्रिक दोहोर्याउनेछिन् ।

यो सिनेमाको विषयवस्तु आम नेपाली समाजसँग गहिरो रूपमा जोडिएको छ । निर्देशक हिमाल न्यौपाने निर्देशित यो सिनेमामा ‘प्रेमगीत ३’का अभिनेता मनिष राउत एसोसिएट निर्देशकका रूपमा छन् । सामाजिक यथार्थ र भावनात्मक कथावस्तु समेटिएको सिनेमालाई निर्माण टिमले दर्शकको भावना छुने सिनेमाको रूपमा प्रस्तुत गर्न खोजेको छ ।

अभिनेत्री मिरुना मगर सिनेमाबाट आशावादी देखिन्छिन्। उनी भन्छिन्, ‘अघिका सफल सिनेमामा जस्तै यसपटक पनि पोजेटिभ भाइब्स आएको छ। दर्शकको माया पाइनेमा विश्वस्त छु ।’

एसोसिएट निर्देशक मनिष राउत भन्छन्, ‘यो सिनेमा कुनै समुदाय विशेषको होइन, सम्पूर्ण नेपाली समाजको साझा कथा हो। यसले सम्बन्ध, अस्तित्व र भावनात्मक क्षतिहरूलाई उजागर गर्छ ।’

सिनेमामा मिरुनासहित विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, तारा शर्मा, लगायत दर्जनौँ कलाकारको अभिनय देख्न पाइनेछ ।

कमल न्यौपाने र विमल न्यौपानेको निर्माणमा तयार भएको सिनेमा पेपरक्लिप ब्यानर अन्तर्गत बनेको हो । गोविन्द शाहीको काफिया फिल्म्सले सिनेमाको वितरणको जिम्मेवारी लिएको छ ।

सिनेमामा भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहेको छ भने नवीन गुरुङ र कृष्ण परियारले छायांकन सम्हालेका छन् । संगीतमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको नाम रहेको छ ।

अब सिनेमाको प्रदर्शनपछि मात्रै प्रस्ट हुनेछ – मिरुना मगरको दोस्रो हिट ह्याट्रिक बन्ने सपना पूरा हुन्छ कि हुँदैन। तर निर्माण पक्ष र कलाकारहरूको विश्वास भने बलियो छ । यो सिनेमा आगामी भदौ ६ गतेबाट देशज्षपी प्रदर्शनमा आउँदैछ ।