द सिनेमा टाइम्स, काठमाडौं । आगामी शुक्रबार साउनको २३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मोहर’को प्रचार प्रसारमा अभिनेता पल शाह दौडिरहेका छन् । अभिनेता शाह सिनेमाको प्रचारका क्रममा चितवन पुगेका छन् । चितवनमा आयोजना भएका विभिन्न कार्यक्रममा उनी सहभागी भएका थिए ।
आइतबार पलले चितवनको म्याङ्गो हल, पर्सामा आयोजित एक कार्यक्रममा दर्शकहरुसँग साक्षात्कार गरेका हुन् । सिनेमाको गीतमा समेत पल र दर्शक नृत्य गरेका थिए । अभिनेता शाह र गायक थानेश्वर गौतमले चितवनका दर्शकसँग सिनेमा हेर्न आग्रह गरेका छन् । दर्शकहरुले पनि सिनेमाको ट्रेलर र गीतसंगीतले प्रभावित बनाएको भन्दै आफूहरु ‘मोहर’का लागि उत्साहित भएको प्रतिक्रिया दिएका हुन् ।
चितवनका दर्शकसँग साक्षात्कार गरेका पलले ‘मोहर सफलताको केक’ समेत काटेर आज पोखरामा दर्शकसँग भेटघाट गर्नेछन् । पोखरामा पनि पलले फिल्मको गीतमा दर्शकसँग नृत्य गर्नेछन् । फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको यो सिनेमालाई ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार पारिएको हो । सिनेमाका निर्माता चुम्बन जंग शाही हुन् ।
यो सिनेमामा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ । देउकी प्रथाको कथामा आधारित सिनेमाको सेन्सर समेत भएको छ । चलचित्र सेन्सर बोर्डले यो सिनेमालाई ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब, यो सिनेमा हेर्नका लागि १६ वर्ष मुनीका बालबालिकाले बाबुआमाको साथमा हल पुग्नुपर्नेछ ।
यो सिनेमाको प्रचार सामाग्रीले दर्शकको माया पाइरहेका कारण बक्स अफिसमा सिनेमाले सुखद ओपनिङ गर्ने विश्वास गरिएको छ ।


प्रतिक्रिया