‘अभिमन्यु’को पहिलो गीत ‘माली’ सार्वजनिक

‘अभिमन्यु’को पहिलो गीत ‘माली’ सार्वजनिक

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको नयाँ सिनेमा ‘अभिमन्यु’को पहिलो गीत ‘माली’ सार्वजनिक गरिएको छ । प्रेम, स्नेह र आत्मीयताको भाव मिश्रित गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त सिवाकोटीको रहेको छ । यसमा विषम आचार्यको संगीत संयोजन छ ।

गीतको भिडियोमा दाजु-बहिनीबीचको भावनात्मक र आत्मीय सम्बन्धलाई देखाइएको छ । माली बनेर आफ्नी बहिनीको रेखदेख गर्ने दाजुको भावनालाई गीतले मार्मिक ढंगले प्रस्तुत गरेको छ । शनिबार परेको रक्षाबन्धनलाई मध्यनजर गरेर सार्वजनिक गरिएको गीतमाथि निर्माण पक्षले भिडियो प्रतिस्पर्धाको पनि घोषणा गरिएको छ ।

यो गीतको भिडियो प्रतिस्पर्धामा सहभागी हुन इच्छुकले उक्त गीतमा दाजुभाइ वा दिदीबहिनीले राखी बाँधेको भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गर्नुपर्नेछ । उत्कृष्ट ३ भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार पुरस्कार प्रदान गरिने निर्माता पौडेलले बताए ।

सुशान्त गौतमको निर्देशनमा निर्माण भएको सिनेमामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ लगायतको अभिनय रहेको छ । यो सिनेमा आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउँदैछ । यो सिनेमाको हिन्दी भर्सन आगामी असोज ६ गते रिलिज हुनेछ ।

मुकेश खनालको लेखन रहेको सिनेमाको निर्माणमा विनोदलाई गुञ्जन गिरीले सघाएकी छन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको सिनेमाको छायांकन शरद महतोले गरेका हुन् ।