द सिनेमा टाइम्स, काठमाडौं । वडा दशैंको फूलपातीमा रिलिज हुने सिनेमा ‘बलिदान’ले आफ्नो प्रचार अभियानलाई थप सशक्त बनाउँदै ४ मुख्य पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । बुधवार सार्वजनिक गरिएको पोस्टरमार्फत अभिनेताद्धय अर्पण थापा, हेमन्त बुढाथोकी, निर्देशक तथा कलाकार सन्तोष सेन तथा अभिनेत्री ऋचा शर्माको लुक्सलाई दर्शकसामु पहिलो पटक प्रस्तुत गरिएको हो ।
निर्देशक सन्तोष सेनका अनुसार, टिजर सार्वजनिक हुनु अगावै सिनेमाका केही विशेष पात्रहरूमध्ये कथामा गहिरो प्रभाव छोड्ने यी अनुहारहरूलाई पहिलो पटक दर्शकसामु प्रस्तुत गरिएको हो । पोस्टर सार्वजनिक गर्दै निर्देशक सेनले भनेका छन्, ‘यी तस्बिरहरू केवल पोस्टर होइनन्, यी पात्रहरू ती पात्रहरू हुन्, जो हाम्रो समाजका कुनाकाप्चामा लुकेको आवाज हुन् ।’
यो सिनेमामा फरक र प्रभावशाली भूमिकामा देखिएका कलाकारमध्ये हेमन्त बुढाथोकी सयौं सिनेमामा खलनायकको रूपमा आफ्नो गहिरो छवि बनाइसकेका अनुभवी कलाकार हुन् । निर्देशक सेनले हेमन्तको भूमिकाबारे उल्लेख गर्दै भनेका छन्, ‘जसको उपस्थितिले पर्दामा मात्र होइन, कथाको हड्डी नै काँप्छ ।’
त्यस्तै, संवेदनशील र गहिरो भूमिकामा आफूलाई साबित गरिसकेका अभिनेता अर्पण थापालाई निर्देशकले यस्तो पात्रका रूपमा प्रस्तुत गरेका छन्, ‘जसको आँखाबाट शब्दहरू बोल्छन् र चरित्रको पीडा, विद्रोह र सत्यता दर्शकले महसुस गर्नेछन् ।’ अभिनेत्री ऋचा शर्मा सिनेमामा एक फरक तरिकाले समाजको प्रतिनिधित्व गर्ने भूमिकामा देखिनेछिन् । निर्देशकका अनुसार, ‘उनी प्रत्येक संवादमा जीवनको असल मर्म उजागर गर्ने पात्र हुन् ।’
निर्देशक सेन आफैं पनि चलचित्रको एक प्रभावशाली भूमिकामा प्रस्तुत हुनेछन् । आफूले निभाएको पात्रबारे उनले लेखेका छन्, ‘एक यस्तो पात्र, जो केवल कथा भित्र सीमित छैन, उसले आफ्नो समाजलाई परिभाषित गरेको छ ।’ यसअघि, अभिनेताद्धय समीर भट्ट, सौगात मल्ल र अभिनेत्री कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेका छन् । सौगातको रहस्यमय अवतार र समीरको जन्मदिनका अवसरमा सार्वजनिक गरिएको प्रि-टिजरले दर्शकमाझ चर्चा बटुलेका थिए ।
यो सिनेमाको प्रचारलाई नयाँ उचाइमा पुर्याउँदै निर्माताले देशभर ‘बलिदान’ ब्यानर अभियान चलाएका छन्, जसमा देशैभर विशाल ब्यानर राखिएका छन् । ‘बलिदान’लाई फरक कथावस्तु, सशक्त प्रस्तुतीकरण र भावनात्मक गहिराइका साथ विदेशी सिनेमाको भीडमा समेत नेपाली सिनेमाको अलग पहिचान बनाउने उद्देश्य लिइएको निर्देशक सेनले बताएका छन् ।
आसुसेन फिल्मस् प्रालिको प्रस्तुति रहेको सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिष्ट तथा कार्यकारी निर्माता प्रेम पुरी हुन् ।


प्रतिक्रिया