द सिनेमा टाइम्स, काठमाडौं । रक्षा बन्धनको अवसर पारेर निता फिल्म्सको प्रस्तुति निर्माण हुने नेपाली सिनेमा ‘पार्वती’का दुई फरक मूडका पोस्टर सार्वजनिक भएका छन् । अभिनेत्री निता ढुंगाना अधिकारीको निर्देशनमा निर्माण हुन लागेको सिनेमाको निर्माण घोषणासँगै प्रदर्शन मिति पनि घोषणा गरिएको हो । निर्माण पक्षका अनुसार ‘पार्वती’ आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ ।
पहिलो पोस्टरमा अभिनेत्री ‘पार्वती’ पहेँलो छातामुनि, सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखिएकी छन्, जसले उनको जीवनमा आउने चुनौती, सोचमग्न स्वभाव र भित्रैको संवेदनशीलता झल्काउँछ । दोस्रो पोस्टरमा भने उनी गाउँले पोशाकमा हल्का मुस्कान र लजालु अदा सहित प्रस्तुत भएकी छन्, जसले उनको बालपनको रमाइलो र जीवनप्रतिको सहज दृष्टिकोण संकेत गर्दछ ।
सिनेमाको कथा निता ढुंगानाले नै लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन् । छायांकन कविर लाल र शाहिद लालले गर्नेछन् । निर्माण टिममा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगाना रहेका छन् । निर्माण पक्षका अनुसार ‘पार्वती’ हास्य, भावना र सामाजिक सन्देश मिसिएको कथा हो, जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव देखाइनेछ ।
असोजबाट छायांकनमा प्रवेश गर्ने यो सिनेमाका थप कलाकार र प्राविधिक विवरण चाँडै सार्वजनिक गरिने निर्देशक ढुंगानाले जनाएकी छन् । उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले तथा उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्ने छन् ।



प्रतिक्रिया