द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘सिटामोल’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । आज बुधबारसम्म आइपुग्दा पनि हलमा सिनेमाको दर्शक अकुपेन्सी सुखद् देखिन्छ । मंगलबार सिनेमाका बाल कलाकार करण नेपाली पढ्ने स्कुलले सितापाइलामा अवस्थित सिके सिनेमाज्मा विद्यार्थीलाई ‘सिटामोल’ देखाएको थियो ।
जहाँ सिनेमाकी मुख्य अभिनेत्री बेनिशा हमाल, कलाकार श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, निर्देशक राज बहादुर साने, संगीतकार बाबुल गिरी र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसी पुगेका थिए । सिनेमा सकिएपछि हल भित्र विद्यार्थीसँग साक्षात्कार गर्न पुगेकी अभिनेत्री बेनिशा हमाल नै त्यहाँको माहोल देखेर भावुक बनेकी थिइन् ।
‘सिटामोल’ले बच्चादेखि बृद्धसम्मलाई रुवाउन सफल भएको भन्दै अभिनेत्री हमालले खुशी व्यक्त गरेकी थिइन् । सिनेमा हेरेका अधिकांश दर्शकले कर्णालीको कथा बोल्ने सिटामोल हेर्नै पर्ने बनेको प्रतिक्रिया सामाजिक सञ्जाल मार्फत् पोस्ट गरेको देख्न सकिन्छ । अहिले समाजिक सञ्जाल फेसबुक रिल्स र टिकटिकमा सिटामो हेरेर रोएका भाइरल भिडियोहरु छ्यापछ्याप्ती पाइन्छ । जसले सिनेमाको व्यापारमा राम्रो प्रभाव पार्दै गइरहेको छ ।
यद्यपी, भोली बिहीबारबाट दुई ठुला बलिउड सिनेमा ‘वार २’ र ‘कूली’ नेपालमा रिलिज हुने भएकाले अहिले हल सञ्चालकले यो सिनेमालाई शो दिएका छैनन् । जसको प्रत्यक्ष असर सिनेमाको व्यापारमा देखिने निर्माता भुगोल कार्की र बिकास राज जोशी बताउँछन् । हाम्रो सिनेमाको विस्तारै माहो बन्दै गइरहेको समयमा विदेशी सिनेमालाई काखी च्यापी नेपाली सिनेमालाई पाखा लगाएकोमा उनीहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।
राज बहादुर साने निर्देशित सिनेमामा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।


प्रतिक्रिया