द सिनेमा टाइम्स, काठमाडौं । दशैंको फूलपातीको अवसर पारेर असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘माइतीघर’को प्रचार आक्रामक रुपमा अगाडि बढिरहेको छ । सिनेमाको देशभरका हलमा ठूला ठूला पोस्टर राखिएको छ । देशका विभिन्न स्थानमा होर्डिङबोर्ड राखिएको छ ।
सिनेमाका प्रस्तुतकर्ता रोहित अधिकारीले प्रचारमा कुनै पनि कमी नगर्ने घोषणा गरिसकेका छन् । यसैबिच, यो सिनेमाको शीर्ष गीतमा नृत्य गरेर उत्कृष्ट हुने व्यक्ति वा समुहलाई ५ लाख नगद पुरस्कार घोषणा गरिएको छ ।
भदौको पहिलो साता सार्वजनिक हुन लागेको गीतको ४० सेकेन्डदेखि २ मिनेटसम्म भिडियो बनाएर ओएसआर डिटिजलको मेल आइडी [email protected] मा पठाउनुपर्नेछ । ती भिडियोहरु ओएसआरको युट्युब, फेसबुक र टिकटक एकाउन्टबाट सार्वजनिक हुनेछ । सार्वजनिक भिडियोमध्येबाट सर्वाधिक धेरै भ्यूज आउने र उत्कृष्ट कोरियोग्राफी भएको भिडियोलाई छनोट गरेर ५ लाख नगद पुरस्कार दिइने सिनेमाका प्रस्तुतकर्ता रोहित अधिकारीले बताए ।
‘बसन्त नै बस्न खोज्छ यहाँ लोलायर’ बोलको गीतमा भिडियो बनाएर भदौको २० गतेसम्म पठाइसक्नुपर्नेछ । यो गीतमा भारतीय गायिका सञ्जिवनीको स्वर छ । निर्माणपक्षले असोजको १२ गते उत्कृष्ट भिडियो बनाउने व्यक्ति वा समुहको नाम घोषणा गर्ने र पुरस्कार प्रदान गर्ने बताएको छ ।
मिलन तामाङको निर्देशनमा निर्माण भएको सिनेमामा धिरज मगर, केदार घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।
यो सिनेमामा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको डोआपी, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एसडी योगी र स्वर्गीय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन छ ।
रविन शेरचन र धिरज तामाङको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।



प्रतिक्रिया