माघ १ गते प्रदर्शन हुने ‘मिरमिरे’को छायांकन ३५ दिनमा सम्पन्न

माघ १ गते प्रदर्शन हुने ‘मिरमिरे’को छायांकन ३५ दिनमा सम्पन्न

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । यम शेर्पाको निर्देशनमा तयार भइरहेको नेपाली सिनेमा ‘मिरमिरे’को छायांकन सम्पन्न भएको छ । ३५ दिनको लगातार खिचाइपछि सिनेमाको मुख्य छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ ।

सिनेमाको अधिकांश दृश्य काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा खिचिएका हुन् । निर्देशक शेर्पाका अनुसार अब केवल एउटा गीतको मात्र छायांकन बाँकी छ, जसलाई समयअनुसार खिचिने तयारी भइरहेको छ ।

यार्सा फिल्म्सको ब्यानरमा बनेको ‘मिरमिरे’ माघ १ गते देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ । अभिनेत्री सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर केही दिनअघि नै रिलिज मिति घोषणा गरिएको हो ।

सिनेमामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल रहेका छन् ।

निर्देशनसँगै कथासमेत यम शेर्पाले लेखेका छन् । सिनेमाका छायाकार आलोक शुक्ला हुन् भने निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्मातामा रहेका छन्। सह-निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन् । कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल हुन् ।

सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रकका रूपमा कार्यरत छन् । सिनेमाको देशव्यापी वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।