द सिनेमा टाइम्स, काठमाडौं । महिला केन्द्रित नेपाली सिनेमा ‘कोशेढुंगा’ आगामी भदौ १२ गते नेपालसहित ४२ भन्दा बढी देशमा एकसाथ प्रदर्शन हुने भएको छ । सरोज पौडेलको निर्देशनमा निर्माण भएको सिनेमाको थिम पोस्टरदेखि नै महिला पात्रको प्रभावशाली भूमिकाको संकेत दिइएको छ ।
सिनेमामा मुख्य भूमिकामा सुरक्षा पन्त र नयाँ अनुहार मन्जिल कुमार देखिनेछन् । चितवनका मन्जिलले यसअघि केही नाटकमा अभिनय गरे पनि ‘कोशेढुंगा’बाट पहिलो पटक सिनेमामा मुख्य भूमिका पाएका हुन् । उनी गाउँले भूमिकामा देखिँदैछन् । सुरक्षासँगको जोडीमा उनलाई दर्शकले ‘भंगेरा र भगेरी’ र ‘नत्र भने जिन्लगी व्यर्थ छ’ गीतमार्फत पहिले नै देखिसकेका छन्, जसमा दोस्रो गीत अहिले टिकटकमा हिट छ।
‘राम्रो कथा र टिम पाएँ, त्यसैले अभिनयमा हात हालेँ । अनुभवी निर्देशक र कलाकारसँग सहकार्य गर्नु ठूलो अवसर हो,’ मन्जिलले बताएका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलको यो नयाँ प्रस्तुति स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा छायांकन गरिएको हो ।
नरदेवी फिल्म्सको ब्यानरमा बनेको सिनेमामा सुरक्षा पन्त र मन्जिल कुमारसहित आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, स्नेहा जोशी, सविता रेग्मी, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतका कलाकारको अभिनय छ।
निर्माण टिममा प्रेविल कँडेल र किशोर अनुराग निर्माता, दिनेश खड्का कार्यकारी निर्माता रहेका छन्। छायांकन बाबु श्रेष्ठ, सम्पादन नहकुल खड्का, संगीत आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको रहेको छ।
अन्तर्राष्ट्रिय बजारमा वितरणको जिम्मा प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले लिएको छ। निर्माण टिमका अनुसार यो पहिलो पटक नेपाली सिनेमा इतिहासमै ४२ देशमा एकसाथ प्रदर्शन हुँदैछ, जसले ‘कोशेढुंगा’लाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया