‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुने

‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुने

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपालमा लगातार ५१ दिनसम्म प्रदर्शनमा आएर सफलता हासिल गरेको नेपाली सिनेमा ‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुने भएको छ । सशान कँडेलको निर्देशनमा बनेको यो सिनेमा आगामी सेप्टेम्बर ५ देखि सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम, मणिपुरसहित भारतका ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शन हुने भएको हो ।

भारतमा यसको वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गर्दैछन् । नेपालमा असाधारण सफलता पाएपछि, विशेषगरी सिक्किम-दार्जिलिङ क्षेत्रमा रहेका भारतीय गोरखा समुदायबीच यसको उच्च माग देखिएको बताइन्छ।

कलेज जीवनका उतार-चढाव, प्रेम, मित्रता र सङ्घर्षलाई मुख्य कथावस्तु बनाएको सिनेमामा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ, आशिष पुरुष लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमाका लेखक तथा एसोसियट निर्देशक माधव शर्मा हुन् । निर्माता सुरेश कँडेल र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल र कुन्दन गुप्ता रहेका छन् । कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्युसर कोसिस राज क्षेत्री हुन् ।