द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा निर्माण हुन लागेको नयाँ सिनेमा ‘३६को आँकडा’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । यो सिनेमाको आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दीरमा शुभमुहूर्त गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको हो ।
शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा र पूजा शर्मा फिचर छन् । प्रहरी अधिकारीको भूमिकामा प्रस्तुत भएकी रेखाले पूजालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ । पोस्टरमा रेखाको अनुहारमा संघर्षपछि प्राप्त विजयको अभिव्यक्ति देखिन्छ भने पक्राउ परेकी पूजाको अनुहारमा अझै टक्कर जारी रहेको भाव झल्किन्छ ।
आज सार्वजनिक पोस्टरले नेपाली सिनेमामा प्रायः नदेखिएको फरक दृश्य प्रस्तुत गरेको छ । दुई महिला पात्रबीचको द्वन्द्वलाई सिनेमाको केन्द्रमा राखिएको देखिन्छ, जुन सम्भवतः नेपाली सिनेमा इतिहासमा पहिलोपटक हो । यस आधारमा सिनेमाले विशेष खाले कथा प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ ।
सिनेमा फ्लोरमा जानु अघिनै सार्वजनिक गरिएको यो फर्स्टलुक पोस्टरले दर्शकको उत्सुकता बढाउने अपेक्षा छ । नेपाली सिनेमामा फरक-फरक छिमलमा ‘लिडिङ लेडी’को पहिचान बनाउँदै आफूलाई स्थापित गरेका यी दुई अभिनेत्रीको पर्दाको टक्कर दर्शकका लागि रोचक हुने देखिन्छ ।
सबिर श्रेष्ठको निर्देशनमा बन्ने यो सिनेमा आगामी सोमबारबाट फ्लोरमा जानेछ । निर्माण पक्षले आज सार्वजनिक पोस्टरमा अन्य कलाकार र प्राविधिक टिमबारे जानकारी दिएको छैन । सुटिङपछि ती विवरण सार्वजनिक गर्ने तयारीमा रहेको बताइएको छ ।
सिनेमामा रेखासँग पछिल्लो समय अभिनयका लागि चर्चित महेश त्रिपाठीको जोडी बाँधिनेछ भने पूजासँग पुष्प खड्काको जोडी देखिनेछ ।



प्रतिक्रिया