फिरोज तिमलसेनाको निर्देशन ‘कहाँ गयौ तिमी’ निर्माण घोषणा

फिरोज तिमलसेनाको निर्देशन ‘कहाँ गयौ तिमी’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सहारा फिल्म्सको ब्यानरमा नयाँ नेपाली सिनेमा ‘कहाँ गयौ तिमी’ निर्माण हुने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर शनिबार सिनेमाको टाइटलसहित घोषणा गरिएको हो ।

सिनेमालाई फिरोज तिमलसेनाले निर्देशन गर्नेछन् । लभस्टोरी जनरामा निर्माण हुने भनिएको सिनेमाको विषयवस्तुबारे विस्तृत जानकारी निर्माण पक्षले खुलाएको छैन । तर टाइटल घोषणा पोस्टरमा देखाइएको कालो बादल, एकान्तमा रहेको घर र रूखले छोडिएको मायामुखी कथावस्तुको संकेत गरेको बुझिन्छ ।

जीवन आचार्यले लेखेको कथा रहने सिनेमामा प्रकाश नेपालीको संगीत रहनेछ । पोस्टरमा प्रयोग गरिएको कालो र रातो रंगले प्रेम, आशा, विछोड र मिलनबीचको द्वन्द्वलाई चित्रण गर्ने अनुमान लगाइएको छ ।

सिनेमा निर्देशक तिमलसेना टेलिभिजनबाट आफ्नो पहिचान बनाएका हुन् । उनले नेपाल आइडल सिजन-१ मा रियालिटी प्रोड्युसर तथा एपिसोड डिरेक्टर, भ्वाइस अफ नेपालमा फाउन्डर, क्रिएटिभ हेड तथा चिफ एडीको रूपमा काम गरेका थिए । साथै, उनी अभिनेता समेत हुन् र ‘दर्पण छाया २’ मा अभिनय गरेका थिए ।

गायकसमेत रहेका उनले इन्जिनियरिङलाई पेशा बनाउँदै पछिल्ला वर्षहरू अमेरिकामा बस्दै आएका छन् । अब भने उनी सिनेमा निर्देशनमार्फत डेब्यु गर्न लागेका हुन् । सिनेमाका कलाकार र निर्माता भने अझै सार्वजनिक गरिएको छैन । निर्देशक तिमलसेनाले छायांकन, प्रदर्शन मिति र अन्य टिमबारे चाँडै जानकारी दिने बताएका छन् ।

घोषणासँगै सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘शब्द र भावना भनेको घरमा काम लाग्छ भनेर जतन गरी राखेको सियो जस्तो रहेछ, चाहिने बेला कहिले फेला पर्दैन। आज सिनेमा निर्देशनमार्फत नयाँ यात्राको सुरुवात गर्दा खुशी र जिम्मेवारी दुवै महसुस भएको छ। सम्पूर्ण टिमप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा सिनेमाबारे थप जानकारी दिने प्रतिज्ञा गर्दछु।’