द सिनेमा टाइम्स, काठमाडौं । आगामी शुक्रबार भदौ ६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘माग्ने राजा’ अगष्टको २२ तारिखबाट अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शनमा आउने भएको छ । अष्ट्रेलियाको वितरण कम्पनी केथ्रीजीले दर्शकको माग अनुसार शो थपिरहेको उल्लेख गरेको हो ।
गोविन्द भण्डारीले यो सिनेमालाई अष्ट्रेलियामा प्रदर्शन गर्दैछन् । सिनेमाको प्रचार सामाग्री गीत र ट्रेलरले दर्शकमाझ बनाएको उच्च हाइपका कारण अष्ट्रेलियामा पनि यसको माग निकै बढेको छ । जसकाकारण, दर्शकलाई आफ्नो नजिकको सिनेमा हलको नाम लेखेर पठाउन आग्रह गरिएको छ । दर्शकको माग अनुसार, विभिन्न शहरमा शो थप्दै जाने बताइएको छ ।
नेपालमा पनि यो सिनेमाको चर्चा व्यापक छ । सिनेमाले हाइप अनुसार सुखद् ओपनिङ गर्ने विश्वास गरिएको छ । ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमालाई मुनाल घिमिरेले निर्माण गरेका हुन् । सिनेमामा केदार प्रसाद घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शारदा गिरी, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई नरेन्द्र मैनालीले खिचेका हुन् । सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।



प्रतिक्रिया