द सिनेमा टाइम्स, काठमाडौं । मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को डेव्यु निर्देशकिय सिनेमा ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । मंगलबार काठमाडौंमा सिनेमाको शुभमुहूर्त गर्दै छायांकनमा निस्केको हो ।
यो सिनेमाको शुभमुहूर्तमा निर्देशक बल्छी धुर्बेसहित अधिकांश कलाकारको उपस्थिति रहेको थियो । क्यामेरा पूजा गर्दै सिनेमाको मुहूर्त सटका केदार घिमिरे (माग्ने बुढा)ले नरिवल फुटाए भने अर्का कलाकार रवि गिरीले क्लयाप हानेका थिए । काठमाडौंबाट सुरु भएको सिनेमाको छयांकन पोखरा लगायतका स्थानमा हुनेछ । करिब ३५ दिनको छायांकन सेड्युल रहेको निर्देशक श्रेष्ठले जानकारी दिए ।
‘आजबाट हामीले सिनेमाको छायांकन सुरु गरेका छौं । हाम्रो कला र शिपले भ्याए र जानेसम्म राम्रो काम गर्ने प्रयास गर्नेछौं,’ निर्देशक श्रेष्ठले भने, ‘हामीलाई सानो पर्दामा जसरी दर्शकले साथ र माया दिनुभयो, त्यस्तै माया र साथ ठूलो पर्दाका दर्शकले पनि गरिदिनु हुनेछ भन्ने हाम्रो विश्वास छ ।’
यो सिनेमा माघ १ गते देशव्यापी रिलिज हुनेछ । यो बल्छी धुर्बेको पहिलो निर्देशकीय फिचर सिनेमा हो । ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनी त्यसपछि आफैं टेलिसिरियल निर्देशनमा आएका थिए । उनका टेलिसिरियल ‘हल्का रमाइलो’ र ‘जुठे’ अहिले दर्शकमाझ लोकप्रिय छन् ।
बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको यो सिनेमाको मुख्य अभिनेत्रीमा वर्षा सिवाकोटी छिन् । अन्य कलाकारमा मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु) लगायत छन् ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन डिजाइनर, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ । टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने सिनेमालाई नेपालमा श्री व्यंकटेस इन्टरटेनमेन्टले गर्नेछ ।



प्रतिक्रिया