द सिनेमा टाइम्स, काठमाडौं । अगस्ट २२ अर्थात् भदौ ६ का दिनदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको सिनेमा अष्ट्रेलियाका विभिन्न सहरका २५ हलमा लाग्ने भएको छ । अष्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले सिनेमा एक सय शोजका साथ रिलिज हुन लागेको जानकारी गराएका हुन् । हलमा प्रदर्शन हुने भएसँगै सिनेमाको बुकिङसमेत खुला गरिएको छ ।
सिनेमाको बुकिङ सुरुवाती चरणमा रहेको र प्राप्त सोजको आधारमा हेर्दा ‘माग्ने राजा’ले राम्रो व्यापार गर्ने अनुमान रहेको थ्रिकेजीका गोविन्द भण्डारीले बताए । दृश्य इन्टरटेनमेन्टकी कृष्टि श्रेष्ठले सिनेमाको हाइप र सम्भावनालाई मध्यनजर गरेर पर्याप्त शोसहित रिलिज गर्न लागेको बताइन् । उनका अनुसार अष्ट्रेलियामा लामो समयपछि नेपाली सिनेमा हलमै रिलिज हुन लागेको हो ।
नमस्ते इन्टरटेनमेन्टले ‘माग्ने राजा’लाई अष्ट्रेलियामा वितरण गर्न लागेको हो । नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले सिनेमा पर्याप्त शोसहित नेपालसँगै अष्ट्रेलियामा रिलिज हुन लागेको र सिनेमाले उत्साहजनक व्यापार गर्ने अपेक्षा व्यक्त गरेका छन् । माग्ने बुढा अर्थात् केदार प्रसाद घिमिरे पहिलो पल्ट मुख्य भूमिकामा प्रस्तुत भएको सिनेमाका गीत र ट्रेलर दर्शकको रुचिमा परेका छन् ।
सिनेमामा वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङदेल, शारदा गिरी लगायतका कलाकारको अभिनय रहेको छ । मुनाल घिमिरेले निर्माण गरेको सिनेमालाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । मित्र गुरुङको सम्पादन, नरेन्द्र मैनालीको छायांकन, सुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको सिनेमामा सामीप्य तिमल्सेनाको लेखन रहेको छ ।



प्रतिक्रिया