द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता जीवन लुइटेल ७ वर्षपछि अभिनयमा कमव्याक गर्ने भएका छन् । सिनेमासम्बन्धी अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको सिनेमा ‘सकम्बरी’बाट उनको कमव्याक कर्न्फम भएको हो । बुधबार उनले सिनेमामा अभिनय गर्ने लिखित सम्झौता गरेका हुन् ।
जीवन लुइटेलसहित यो सिनेमामा अर्का अभिनेता अर्पण थापाको पनि प्रवेश भएको छ । सिनेमामा अनुबन्ध भएपछि जीवनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही वर्षको कमर्शियल ब्रेकपछि म फर्किएको छु । सिनेमा ‘सकम्बरी’मा ‘सुयोगवीर’को रुपमा फर्किँदै छु । मैले धेरै पटकथाहरू खोजेँ, तर मेरो मनलाई पछ्याएँ र यो रोजेँ । अनुभवी अर्पण थापासँग स्क्रिन सेयर गर्न म उत्साहित छु ।’ सिनेमामा उनले ‘सुयोगवीर’को भूमिका निर्वाह गर्नेछन् ।
गत महिना कान्तिपुर थिएटरले मञ्चन गरेको नाटक ‘शिरीषको फूल’मा पनि जीवनले ‘सुयोगवीर’कै भूमिकामा अभिनय गरेका थिए । अब सोही पात्र उनले सिनेमामा निर्वाह गर्नेछन् । अर्पण भने ‘शिवराज’को भूमिकामा देखिने जनाइएको छ । ‘शिरीषको फूल’को ‘सकम्बरी’ पात्रबाट प्रभावित भएर सिनेमा निर्माण हुन लागेको हो ।
सिनेमामा दोस्रो विश्वयुद्ध कालखण्डको दृश्य उतार्नुपर्ने भएकाले म्यानमार (बर्मा) र नेपालमा छायांकन गर्ने तयारी गरिएको कान्तिपुर एकेडेमीका सीइओ प्रकाश पुरीले जानकारी दिए । उनका अनुसार सिनेमाको अनुमानित बजेट ३ करोड रहेको छ । तिहारपछि छायांकन सुरु हुने सिनेमाका निर्देशक र मुख्य अभिनेत्री (सकम्बरी)बारे आगामी साता जानकारी गराइने पुरीले बताए ।


प्रतिक्रिया