द सिनेमा टाइम्स, काठमाडौं । भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’ले प्रिमियर शोमा राम्रो प्रतिक्रिया पाएको छ । बुधबार आयोजना गरिएको प्रिमियर शोमा सिनेमा हेर्न पुगेका अधिकांश व्यक्ति भावुक भएका थिए ।
यो सिनेमाको प्रिमियर शोमा कलाकार सुनिल थापा, छायांकार गौरीशंकर धुँजु, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकार कमलमणी नेपाल, लोकेन्द्र लेखक, किरण श्रेष्ठ, स्क्रिप्ट राइटर प्रदीप भारद्धाज लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । सिनेमा हेरेपछि धेरै व्यक्ति भावुक हुँदा कतिपयले आफ्नो आँखामा आँसु थाम्न सकेनन् । केकी अधिकारी, अञ्जु पन्तलगायत सिनेमा हेर्दा रोइरहेका थिए ।
बुवाआमाले छोराछोरीका लागि गर्ने सम्झौता र बुवाआमाप्रतिको जिम्मेवारी निभाउने क्रममा छोराछोरी परिबन्धमा परेर उजाडिएको जिन्दगीको कथा हेरिरहँदा आँसु थाम्न नसकेको प्रतिक्रिया थियो । सिनेमाले सम्बन्धको महत्व, सपना पूरा गर्न गरिने संघर्ष र पारिवारिक मूल्यमान्यतालाई मार्मिक ढंगले प्रस्तुत गरेको देखिन्छ ।
हिमाल न्यौपानेको डेव्यु निर्देशन तथा मनिष राउत एसोसियट निर्देशक रहेको सिनेमामा केकी अधिकारी, विजय बरालसहित मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
यता, बुधबार नै अर्को सिनेमा ताराहरुको पनि प्रिमियर शोको आयोजना गरिएको थियो । अशान्त शर्माको डेव्यु निर्देशनमा निर्माण भएको यो सिनेमाले पनि प्रिमियर शोमा उपस्थित पाहुनाबाट राम्रो प्रतिक्रिया पाएको हो । सिनेमाको प्रिमियर सकिएलगत्तै कलाकार कर्मा शाक्यले भाइ कुन्दुनलाई अँगालो हालेर कामको प्रशंसा गरेका थिए । उनले निर्देशक शर्माले सिनेमालाई जसरी निर्माण गरे त्यसको सराहना गर्दै कथाले आफूलाई एकदमै छोएको बताए ।
किशोर मनोविज्ञानलाई खोतलेर उनीहरूको मानसिक स्वास्थ्यको कथा देखाइएको सिनेमा ‘ताराहरु’मा आत्महत्याको मार्गमा हिँडेको एक युवक साथीहरुको साथबाट कसरी जीवन जिउनपर्छ भन्ने स्थितिमा फर्कन्छ भन्ने मूल विषय नै सिनेमाको कथा हो । सिनेमामा निर्देशक शर्मासहित मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय रहेको छ ।


प्रतिक्रिया