शुक्रबारबाट तीन सिनेमा ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरु’ प्रदर्शनमा

शुक्रबारबाट तीन सिनेमा ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरु’ प्रदर्शनमा

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । भदौ ६ गते आज शुक्रबारबाट तीन नेपाली सिनेमा ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरु’ प्रदर्शनमा आएका छन् । फरक विधाका यी तीन सिनेमामा स्थापित कलाकारको अभिनय छ । यी तीन सिनेमामध्ये ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’लाई स्टारकास्टका कारण हलले बढी प्राथामिकता दिएको देखिन्छ ।

ऋषि लामिछाने निर्देशित ‘माग्ने राजा’लाई देशव्यापी करिब २०० शोज र हिमाल न्यौपाने निर्देशित ‘जनै हराएको मान्छे’लाई करिब १५० हाराहारी शो उपलब्ध गराउँदा ‘ताराहरु’ ५० शोज आसपासमा सीमित भएको छ । यदि यी तीन वटै सिनेमाले दर्शकको ‘वर्ड अफ माउथ’ बलियो पाएर दर्शक अकुपेन्सी बढ्दै गएको खण्डमा शोहरु पनि थपिदै जाने विश्वास यी सिनेमाका निर्माण टिमको छ ।

भूइँमान्छेको धनी हुने महत्त्वाकांक्षाको कथा भन्ने ‘माग्ने राजा’ कलाकार केदार घिमिरे (माग्ने बुढा)ले मुख्य भूमिकामा अभिनय गरेको पहिलो सिनेमा हो । ‘सुतेर उठेको पैसामा’ गीतका कारण चर्चामा रहेको सिनेमामा केदारसहित वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शारदा गिरी, शिशिर वाङ्देल र आर्यन सिग्देल लगायतको अभिनय छ । सामिप्यराज तिमिल्सेनको लेखन रहेको सिनेमाका निर्माता मुनाल घिमिरे हुन् ।

सम्बन्धको कथामा आधारित सिनेमा ‘जनै हराएको मान्छे’मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, सुशांक मैनाली, भोलाराज सापकोटा, रेअर राई, भावना खपाङ्गी मगर, सुमन थापा लगायतको अभिनय रहेको छ । मनिष राउत एसोसियट निर्देशक रहेको सिनेमालाई कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् । यो सिनेमाको छायांकन नवीन गुरुङले गरेका थिए ।

कलाकार आशान्त शर्माको निर्देशनमा निर्माण भएको ‘ताराहरु’ उनको पहिलो निर्देशकीय सिनेमा हो । यसमा आशान्त स्वयंको मुख्य भूमिका छ । मेनुका प्रधान, कुन्दुन शाक्य, मिरा खड्का लगायतको पनि अभिनय रहेको सिनेमाले एक किशोर जीवनबाट निराश भएर आत्महत्याको बाटोमा लाग्न खोज्दा उसका साथीहरूले जीवन जिउन प्रेरित गरेको कथा रहेको छ ।