द सिनेमा टाइम्स, काठमाडौं । दशैंको फूलपाती अर्थात् असोजको १३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘माइतीघर’को प्रचार प्रसार जोडतोडका साथ चलिरहेको छ । सिनेमाको निर्माणपक्षले यसको शीर्ष गीतको छायांकन सकेको छ ।
एउटै गीतका लागि ११ दिन लगाएर छायांकन गरिएको निर्माता रोहित अधिकारीले बताए । उसो त यो गीतको छायांकन बाग्लुङमा पनि गरिएको थियो । तर, निर्माणपक्षले त्यो बेला खिचिएका कुनै पनि दृश्य यसमा राखेको छैन् । नयाँ शैलीमा नै खिचिएको निर्माता अधिकारीको दाबी छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।
गीतको भिडियो खिच्नका लागि ५० लाख खर्च भएको निर्माता अधिकारी बताउँछन् । गीतको भिडियोमा सिनेमाका मुख्य अभिनेत्रीद्धय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । गीतको भिडियोमा कोरसको जम्बो टोलीलाई नचाइएको छ । यसकारण पनि लागत बढेको निर्माणपक्षको भनाई छ ।
यो एउटा ऐतिहासिक गीत भएका कारण पनि भिडियो निर्माणमा कुनै सम्झौता नगरिएको निर्माताको दाबी छ । यो गीतको भिडियो आउँदो हप्ता सार्वजनिक गर्ने तयारी गरिएको छ । निर्माणपक्षले यो गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउने मध्ये एक जनालाई ५ लाख पुरस्कार दिने घोषणा समेत गरिसकेको छ । यो गीतमा भारतीय गायिका सञ्जिवनीको स्वर छ ।
रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण तथा मिलन तामाङको निर्देशन रहेको सिनेमामा केदार प्रसाद घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारको अभिनय छ ।
चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद रहेको सिनेमामा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ । रविन शेरचन र धिरज तामाङको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।


प्रतिक्रिया