शनिबार ‘माग्ने राजा’को आक्रामक व्यापार, हलमा दर्शकले माग्ने बुढालाई जुरुक्कै उचाले

शनिबार ‘माग्ने राजा’को आक्रामक व्यापार, हलमा दर्शकले माग्ने बुढालाई जुरुक्कै उचाले

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं । भदौ ६ गते हिजो शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘माग्ने राजा’ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । हिजो पहिलो दिन शुक्रबार दिउँसो १२ बजेपछि उत्साहजनक व्यापार गरेको सिनेमाले आज शनिबार बिहानी शोबाटै देशभरका हलमा आक्रामक व्यापार गरेको हो ।

सिनेमाले आक्रामक व्यापार गरेपछि निर्देशक ऋषि लामिछाने ‘माग्ने राजा’का मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीलाई लिएर काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । सिनेमाको निर्माण टिम हल पुग्दा ‘माग्ने राजा’ हेरेका अधिकांश दर्शकले सिनेमाले दिएको सन्देश निकै मन परेको प्रतिक्रिया दिइरहेका छन् ।

सिनेमाका मुख्य अभिनेता केदार घिमिरे (माग्ने बुढा)लाई दर्शकले जुरुक्कै बोकेर ‘माग्ने राजा’ भन्दै नाराबाजी समेत गर्ने गरेका छन् । जसले गर्दा दर्शकमाझ उनको क्रेज कति छ भन्ने जो कोहीले सजिलै अनुमान गर्न सक्छन् । सिनेमाका मुख्य अभिनेता केदार घिमिरे पनि आफु भुइँमान्छेलाई दर्शकको यस्तो आर्शिवादले उत्साहित बनाएको बताउँछन् । त्यससँगै आगामी दिनमा अझै राम्रो सिनेमामा काम गर्नु पर्ने चुनौती थपिएको उनको बुझाई छ ।

सिनेमाकी मुख्य अभिनेत्री वर्षा सिवाकोटी पनि आफ्नो भूमिकालाई दर्शकले रुचाएको भन्दै उत्साहित छिन् । हल रिपोर्टको क्रममा आफुलाई थुप्रैले तपाईले राम्रो काम गर्नु भएको भन्दै तारिफ गरिरहेको बताउँछिन् । मुनाल घिमिरेको निर्माण रहेको सिनेमाले मनोरञ्जन र सन्देशलाई सुन्तुलित हिसाबले प्रस्तुत गरेको भन्दै दर्शकले प्रशंसा गरेका छन् । ‘छक्का पञ्जा’ सिरिज बाहिर आएर पहिलो पल्ट सोलो अभिनेताको रुपमा सिनेमालाई हाँकेका केदार घिमिरेको कमेडीलाई दर्शकले भरपुर रुचाएको प्रतिक्रिया दिएका छन् ।

सिनेमाका वितरक रोहित कट्टेल माग्ने राजाले हिजो र आज देशभर नै आक्रामक व्यापार गरेको बताउँछन् । हामी भोली आइतबार दुई दिने बक्सअफिस कलेक्सन सार्वजनिक गर्ने तयारीमा छौं । अहिले त चलचित्र विकास बोर्डमा सजिलै कुन सिनेमाले कति कमाई गर्यो सजिलै हेर्न मिल्ने भएकाले त्यस अनुसार नै बक्सअफिस डाटा सार्वजनिक गरिने वितरक कट्टेलको भनाई छ ।

वितरक कट्टेलका अनुसार ‘माग्ने राजा’ले ‘उनको स्वीटर’पछि इनिसियल दर्शक पाएको हो । सिनेमाले सदाबहार दर्शक पाउने पहिलो श्रेणीका हलमा मात्र होइन चाडबाडमा मात्र हाउसफुल व्यापार गर्ने हलमा पनि हाउसफुलको व्यापार गरेको बताएका छन् । उनले तीजको मुख्य बिदा बाँकी नै रहेकाले सिनेमाले आकर्षक कमाइ गर्ने अपेक्षा व्यक्त गरे ।

‘आज शनिबार देशभर हाउसफूल भएको छ,’ निर्देशक ऋषि लामिछानेले भने, ‘रातीसम्मका शो पनि बिहानै हाउसफुल हुने अवस्थामा छन् । सिनेमाले दर्शकको वर्डअफ माउथ राम्रो पाउनुका साथै हलमा दर्शकको चाप देखिएपछि केही हलले शो थप्ने तयारी समेत गरेको जानकारी आएको छ । राम्रो रिभ्यू आएपछि सिनेमा हेर्ने दर्शकको संख्या बढेको छ ।’

दर्शकले सिनेमाले हसाउँदै सन्देश पनि दिएको बताएका छन । धेरैपछी कमेडी सिनेमा हेर्न पाएको भन्दै देश तथा विदेशबाट पनि आफुलाई दर्शकले आफ्नो टिमलाई फोन र विभिन्न सामाजिक सञ्जाल मार्फत् धन्यावाद दिइरहेको निर्देशक ऋषि लामिछाने बताउँछन् ।

भूइँमान्छेको धनी हुने महत्त्वाकांक्षाको कथा भन्ने ‘माग्ने राजा’ कलाकार केदार घिमिरे (माग्ने बुढा)ले मुख्य भूमिकामा अभिनय गरेको पहिलो सिनेमा हो । ‘सुतेर उठेको पैसामा’ गीतका कारण चर्चामा रहेको सिनेमामा केदारसहित वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शारदा गिरी, शिशिर वाङ्देल र आर्यन सिग्देल लगायतको अभिनय छ । सामिप्यराज तिमिल्सेनको लेखन रहेको सिनेमाका निर्माता मुनाल घिमिरे हुन् ।