द सिनेमा टाइम्स, काठमाडौं । छायांकार शैलेन्द्र डी कार्कीले सिनेमा निर्देशनमा डेव्यु गर्ने भएको छन् । आज सोमबार उनको डेव्यु निर्देशकिय सिनेमा ‘पोखरेली मसिनो’को शुभमुहूर्त गरिएको हो । सोमबार ललितपुको बंगलामुखी मन्दीरमा शुभमुहूर्त गरिएको सिनेमाको पर्सी बुधबार पोखराबाट छायांकन सुरु हुनेछ ।
यो सिनेमालाई उनले श्रीमती शान्ति गिरीसँग मिलेर संयुक्त रुपमा निर्देशन गर्नेछन् । बाबु र छारीको कथा भन्ने सिनेमाको पटकथा अभिनेत्री समेत रहेकी निर्देशक शान्तिले नै लेखेकी हुन् । छोरीलाई हुर्काउन र पढाउन बाबुले गर्ने संघर्ष र सपनाको कथा सिनेमाले भन्ने छ ।
पोखरेली मसिनो कास्कीको पोखरा आसपासमा फलाइने धानको प्रजाति हो । छायांकार कार्कीले धानको प्रजातिमा यसअघि ‘मनसरा’ निर्माण गरेका थिए । जुन बक्सअफिसमा समेत सफल भएको थियो ।
‘यो स्वाद र गुणस्तरको हिसाबले प्रायः नेपालीको भान्सामा पाक्ने प्रिमियम चामल हो । यसले धानको प्रजाति पोखरेली मसिनोलाई विम्व बनाएको छ । अहिले धेरैजसोले यो धान लगाउन छाडिसके । अहिले मान्छेलाई धेरै फल्ने चामल चाहियो’ निर्देशक कार्कीले भने, ‘नामबाटै थाहा हुन्छ कि यसको छायांकन पोखरा आसपासमा हुनेछ । पोखरेली मसिनोजस्तो पोखराका मानिसको कथा त्यसमा छ ।’
यो सिनेमामा प्रवीण खतिवडा, टीका पहाडी, परिक्षा लिम्बु, अविरलप्रताप अधिकारी, अनिल सुब्बा, अंकित खड्का, सजन थापा, अभय बराल, हिउँवाला गौतमको अभिनय रहनेछ । कालीप्रसाद बाँस्कोटाको संगीत र श्रवण मुकारुङका शब्द रचना छ । यो सिनेमाको छायांकन सेड्युल ३० दिनको राखिएको भएपनि रिलिज टार्गेट भने अर्को वर्षको दशैं आसपासलाई गरिएको छ ।
सोसल ड्रामा–थ्रीलर जनरामा राखिएको यो सिनेमाको बजेट साढे २ करोड रुपैयाँ अनुमान गरिएको छ । शैलेन्द्रले यसअघि करिब २ दर्जनभन्दा धेरै सिनेमामा छायांकारको रुपमा काम गरिसकेका छन् ।



प्रतिक्रिया