आईएनआई हलले ‘कमर्सियल शो’मा क्यामेरा र बुम प्रवेश रोक लगाउने

आईएनआई हलले ‘कमर्सियल शो’मा क्यामेरा र बुम प्रवेश रोक लगाउने

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपालमा सञ्चालित सिनेमा हलहरुको दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआईले आफ्नो देशभरका हलमा ‘कमर्सियल शो’को क्रममा क्यामेरा र बुम प्रवेशलाई रोक लगाउने भएको छ । दर्शकको गोपनियतालाई सम्मान गर्दै हलले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गर्नुपरेको जनाएको हो ।

आईएनआई हलले सार्वजनिक गरेको विज्ञप्तिमा भनेको छ, ‘विगत केही समयदेखि सिनेमासँग सम्बन्धित केही पत्रपत्रिका, युट्युब च्यानल, टेलिभिजन कार्यक्रमसँग सम्बन्धित पत्रकार प्रदर्शन भएका सिनेमासँग सम्बन्धित विभिन्न प्रश्न सोध्ने क्रममा सिनेमा हेर्न बाधा पुग्ने तथा आफ्नो गोप्यता भंग हुने सम्मका विभिन्न गुनासा दर्शकबाट पटक पटक आएको कुरालाई मध्यनजर राखि अब उप्रान्त विभिन्न विशेष कार्यक्रमजस्तै प्रिमियर, गीत रिलिज, ट्रेलर रिलिज आदिजस्ता आमन्त्रण गरिएका कार्यक्रममा बाहेक अन्य कुनैपनि कमर्सियल शोमा आउने दर्शकलाई क्यामेरा, बुम तेर्साएर प्रश्न सोध्ने कुरालाई पूर्णरुपले बन्देज गरिएको जानकारी गराउँदछौं ।’

आईएनआईले गोंगबुस्थित ल्होत्से मल, नयाँ बानेश्वरको एनबी सेन्टर, जमलस्थित विश्वज्योति मल, बुटवल सिटी सेन्टर, सिमराको केएसआर हलमा यो निर्णय लागू हुने जनाएको छ । पछिल्लो समय कमर्सियल शोको क्रममा क्यामेरा र बुम लिएर हलभित्र जाँदा कतिपय दर्शकले गोपनियता उल्लंघन भएको आवाज सामाजिक संजालमा उठाउँदै आएका थिए । पहिलोपटक कुनै नेपाली सिनेमा हलले यस्तो संस्थागत निर्णय गरेको हो ।