द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपूतले भारतका लागि नेपाली राजदुत डाक्टर शंकर शर्मा र कल्चरल काउन्सलर गोकुल बस्नेतसँग भेट गरेका छन् । नेपाली राजदुत शर्मासँग दुतावासमै भेट गरेर नेपाली सिनेमा नेपाल र भारतमा एकसाथ प्रदर्शनमा ल्याउने व्यवस्थाका लागि सहजीकरण गरिदिन आग्रह गायक तथा अभिनेता सपूतले गरेका थिए ।
यो भेटका क्रममा कल्चरल काउन्सलर गोकुल बस्नेतले यो विषय अहिले आएको र आफूहरुको ध्यानाकर्षण भएको बताए । ‘अहिले दुई देशका बिच कल्चरल एमओयू गर्ने चरणमा पनि छौ, त्यो पारित भयो भने कल्चर कसरी आदान प्रदान गर्ने भन्ने त्यसमा समावेश छ, यस विषयलाई उच्च प्राथमिकता राखेर आवश्यक पहल र प्रक्रिया अघि बढाउने छौ,’ बस्नेतले भने ।
‘भारतमा नेपालीहरुको संख्या ठुलो छ, भारत पुगेर कार्यक्रम गर्दा हजारौं नेपाली दर्शकको अपार सहभागिता र माया पाएँ, तर नेपाली सिनेमा अहिले पनि भारतमा प्रदर्शन गर्न जटिलता छ,’ गायक तथा अभिनेता सपुतले भने, ‘जापान, युरोप, अमेरिका, मध्यपूर्व लगायतका देशमा जसरी नेपाली सिनेमा प्रदर्शन गर्ने गरिएको छ, त्यसरी नै भारतमा पनि लाखौं नेपाली समुदाय भएकाले नेपाली सिनेमा प्रदर्शनको व्यवस्था हुन सक्यो भने नेपाली सिनेमाको दायरा अझ फराकिलो बन्ने छ, प्रवासी नेपालीहरुले पनि आफ्नो देशको सिनेमा हेर्ने अवसर पाउनेछन् ।’
भारतमा नेपाली सिनेमा प्रदर्शनका लागि सेन्सर लगायतका प्रक्रिया निकै जटिल र झञ्झटिलो छ । केही नेपाली सिनेमा हिन्दी भाषामै डब गरेर प्रदर्शन गर्ने गरिएको छ । भारतको मूम्बई र पुनेमा व्यवसाय गर्दै आएका मोहन विश्वकर्मा लगायतको लगानी र सपुतद्धारा निर्देशित सिनेमा ‘वसन्त’ अब निकट समयमै भारतका विभिन्न शहरमा प्रदर्शन गर्ने तयारी छ । यससँगै उनको अभिनय रहेका सिनेमा ‘सोल्टिनि, माइतीघर र हरिबहादुरको जुत्ता र मिरमिरे‘ प्रदर्शनको तयारीमा छन् ।
बाबा रामदेव र बालकृष्ण आचार्यको संरक्षणमा रहेको हाम्रो स्वाभिमान ट्रष्टले हरितालिका तीजका अवसरमा आयोजना गरेको विशेष सांगीतिक कार्यक्रमका लागि जापानको कार्यक्रम सकेर सपुत सिधै भारतको दिल्ली पुगेका थिए ।



प्रतिक्रिया