द सिनेमा टाइम्स, काठमाडौं । भदौ १२ गते आज बिहीबार ऋषि पञ्चमीको अवसर पारेर सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशक सरोज पौडेल निर्देशित नयाँ सिनेमा ‘कोशेढुंगा’ प्रदर्शनमा आएको छ । यो सिनेमाले रिलिजको पूर्व सन्धयामा काठमाडौंमा आयोजित प्रिमियर शोमा समेत मिश्रित प्रतिक्रिया पाएको थियो ।
नेपाल र विदेशमा समेत एकसाथ प्रदर्शनमा आएको सिनेमाले देशव्यापी करिब १५० शो सहित प्रदर्शनमा आएको हो । आज बिहीबारको बिहानी शोमा औषत सुरुवात गरेको सिनेमाले दिउँसोबाट पिकअप लिनुका साथै दर्शकको वर्डअफ माउथले दर्शकको चाप विस्तारै बढ्ने विश्वास निर्माण टिमको छ ।
‘कोशेढुङ्गा’मा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, मन्जिल कुमार, सरोज खनाल, हिउँवाला गौतम, स्नेहा जोशी, सविता रेग्मी लगायतको अभिनय रहेको छ । यसमा निर्देशक पौडेल स्वयंको लेखन छ । उनलाई सुनिल निउरे र सुबलमणि सापकोटाले लेखनमा सघाएका छन् ।
नरदेवी फिल्मस् र सारंगी फिल्मस्ले निर्माणमा सहकार्य गरेको ‘कोशेढुंगा’को निर्माता प्रेविल कँडेल र किशोर अनुराग तथा कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन रहेको सिनेमामा नहकुल खड्काको सम्पादन तथा आशिष अविरल र रिदम कँडेलको संगीत छ । सेभेन सिज इन्टरनेशनलले विदेश वितरणको जिम्मा लिएको यो सिनेमा नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने जनाइएको छ ।


प्रतिक्रिया