गायक रामकृष्ण ढकालको ‘मालती मंगले’ शुभमुहूर्त, शनिबारबाट छायांकन

गायक रामकृष्ण ढकालको ‘मालती मंगले’ शुभमुहूर्त, शनिबारबाट छायांकन

द सिनेमा टाइम्स
238
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गायक रामकृष्ण ढकालको लगानी रहने सिनेमा ‘मालती मंगले’को औपचारिक रूपमा निर्माण यात्रा प्रारम्भ भएको छ । बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित शुभ मुहूर्त गरिएको सिनेमाको पहिलो क्ल्याप निर्माता ढकालका अभिभावक गोपाल कर्माचार्यले हानेका थिए ।

यो अवसरमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै सिनेमाको छायांकनलाई शुभारम्भ गरे । निर्माता समेत रहेका गायक ढकालले शुभमुहूर्त कार्यक्रममा राम्रो र स्तरीय सिनेमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै दर्शकलाई नेपाली समाजसँग जोड्ने भावनात्मक कथा पस्किने बताए । कलाकार विजय बराल, वर्षा राउत र मेक्सम गौडेलले ‘मालती मंगले’ आफ्नो अभिनय यात्रामा विशेष बन्ने विश्वास व्यक्त गरेका थिए ।

सिनेमामा विजय, वर्षा र मेक्समसहित सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टराईको अभिनय रहनेछ । सिनेमाको निर्देशन प्रकु पाण्डेयले गर्नेछन् । उनको डेव्यु निर्देशन रहने सिनेमाको कथा स्वयंम निर्देशक पाण्डेयको अनि पटकथा तथा संवाद संयोग गुरागाईले लेखेका हुन् । पारिवारिक भावनासँग जोडिएको प्रेमकथामा सिनेमा आधारित रहने जनाइएको छ ।

रानी म्युजिक इन्टरनेशनल प्रालिको ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने सिनेमाका सह-निर्मातामा रविन श्रेष्ठ, बाबु सुवेदी, मनोज बजगाई र ईश्वर बजगाई रहेका छन् । यो सिनेमाका कार्यकारी निर्माता सागर ज्ञवालीका अनुसार सिनेमाको छायांकन तनहुँ र स्याङ्जामा गरिनेछ । पर्सी शनिवारदेखि यो सिनेमाको छायांकन सुरु हुनेछ ।

सिनेमामा डिओपी महेश पौडेल, सम्पादक रोमी तण्डुकार, रंग संयोजक कृष्ण भण्डारी, गीतकार राजेन्द्र थापा, आनन्द अधिकारी, गोपाल अधिकारी र हर्क साउद, संगीत हरि लम्साल, राजनराज सिवाकोटी, एसडी योगी र उज्वल सागर, कस्ट्युम डिजाइन रवि पोखरेल, कला निर्देशक मनोज बोगटी, प्रोडक्सन डिजाइनर रिजन परियार तथा मुख्ख सहायक निर्देशक शिशिर पोखरेल रहेका छन् ।