द सिनेमा टाइम्स, काठमाडौं । जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण हुने सिनेमा ‘स्त्री’को शुभमुहूर्त गरिएको छ । बिहीबार ऋषि पञ्चमीको अवसर पारेर काठमाडौंस्थित गणेशस्थान मन्दिर कमलादीमा स्कृप्ट र क्यामेरा पूजा गरिएको हो । यो सिनेमा भदौ १४ गते शनिबारबाट फ्लोरमा जानेछ ।
समिर राई यो सिनेमाका निर्माता हुन् । काठमाडौं आसपासमा खिचिने सिनेमाको ३५ दिन छायांकन सेड्युल रहेको निर्देशक शाहीले बताए । समिर राई र डाक्टर सुकदेव बिस्ट निर्माता रहेको सिनेमाको पटकथा निर्देशक जीवन शाही र किशन अर्यालले तयार परेका हुन् ।
मेला रेकर्डिङ्ग स्टुडियोको ब्यानरमा सामाजिक कथामा निर्माण हुने सिनेमामा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत र नम्रता श्रेष्ठको प्रमुख भूमिका रहनेछ । बालकलाकारमा दिप्सन चिलवाल र दिपेन्द्र चिलावलको अभिनय रहनेछ ।
सिनेमामा बाबुल गिरीको संगीत, प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेत, प्रोजेक्ट म्यानेजरमा सुबास काफ्ले, द्वन्द्व निर्देशनमा देव महर्जन, प्रमुख सह–निर्देशकमा चन्द्र भण्डारी तथा मेकअपमा श्याम बराल रहनेछन् ।
सिनेमाको ड्रेस डिजाइन सुकनिता चौलागाईले गर्नेछिन् । यो सिनेमाको शुभमुहूर्त कार्यक्रममा गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा, चलचित्र विकास बोर्डका प्रवक्ता सन्तोष बाबु लोहनीको विशेष उपस्थिति रहेको थियो ।


प्रतिक्रिया