द सिनेमा टाइम्स, काठमाडौं । भदौ १३ गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘गुन्यु चोलो : द ड्रेस’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मका हलहरूले अग्रीम टिकट बुकिङ सुरु गरेका हुन् ।
नेपाली सिनेमाहरूकै भिडमध्ये रिलिज हुँदै गर्दा पनि यो सिनेमाले सन्तोषजनक शो पाएको छ । ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’, ‘कोशेढुंगा’ जस्ता सिनेमासँगै हलमा पुगेको यो सिनेमाले पहिलो चरणमै उल्लेख्य स्क्रिन सुरक्षित गरेको छ ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा मात्रै पहिलो दिन शुक्रबार १४ शो दिएको छ । दर्शकको चापअनुसार थप शो बढाउने तयारीसमेत रहेको छ । निर्माण पक्षलाई विश्वास छ कि नाजिर हुसेनको दमदार अभिनयले दर्शकको मन जित्नेछ । उनले यसमा पारालैंगिक महिला (ट्रान्सवुमन)को मुख्य भूमिका निर्वाह गरेका छन् ।
यो सिनेमामा नाजिरसहित सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीलगायत कलाकारहरूको पनि महत्वपूर्ण उपस्थिति छ । सिनेमाको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकास्थित बफेलो एट्लेले खरिद गरिसकेको छ । सम्पूर्ण पोस्ट-प्रोडक्सन (एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइन, ब्याकग्राउन्ड म्युजिक) बाहिरै गरिएको छ ।
हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएको फिल्ममा ब्याकग्राउन्ड स्कोर मार्सेलो दी फ्रान्सिसीले तयार गरेका छन् । लिजाले यसअघि ‘ग्ल्याडिएटर-२’ मा समेत स्वर दिएकी थिइन् । समुन्द्र भट्ट निर्देशित यो सिनेमालाई आकाश बुढाथोकी र भी-भन्से जानुबोनले लगानी गरेका छन् । कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सह-निर्माता हुन् ।


प्रतिक्रिया