द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिनेमा ‘गुन्यु चोलो : द ड्रेस’ आज शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । सन्तोषजनक शो पाएको सिनेमाको ट्रेलर र गीतमा नाजिरको अभिनयको तारिफ भइरहेकाले दर्शकले मन पराउने विश्वास निर्माण टिमको छ ।
‘गुन्यु चोलो’लाई समुन्द्र भट्टको निर्देशन गरेकी हुन् । यो सिनेमा लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा निर्माण भएको छ । यसमा नाजिर हुसेनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् । सिनेमामा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित सिनेमाको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ । सिनेमाको सम्पूर्ण पोस्ट प्रोडक्सन सम्पादन, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा गरिएको छ ।
सिनेमामा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिक मार्सेलो दी फ्रान्सिसीले गरेका छन् । हलिउड सिनेमा ‘ग्ल्याडिएटर-२’मा लिजाले स्वर दिएकी थिइन् । यो सिनेमा नेपाली र हलिउड प्रोड्क्सन हाउसको संयुक्त लगानीमा छ । सिनेमामा आकाश बुढाथोकी र भि-भन्से जानुबोन निर्माता तथा कार्यकारी निर्मातामा जेफ्री जे वेन र स्टिभ जोन्स्टन छन् । अनुपम श्रेष्ठ सिनेमाका सहयोगी निर्माता हुन् ।
आलोक शुक्लाले खिचेको सिनेमामा लेखु सहयात्रीको गीत रचना रहेको छ । यो सिनेमा अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको थियो ।


प्रतिक्रिया