असोज ३ बाट सरेर कार्तिक ६ भाइटीकामा पुग्यो प्रकाश र परिक्षाको ‘सोल्टिनी’

असोज ३ बाट सरेर कार्तिक ६ भाइटीकामा पुग्यो प्रकाश र परिक्षाको ‘सोल्टिनी’

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुत र अभिनेत्री परिक्षा लिम्बुको मुख्य भूमिका रहेको सिनेमा ‘सोल्टिनी’को प्रदर्शन मिति हेरफेर गरिएको छ । यसअघि आगामी असोज ३ गते प्रदर्शन हुने भनिएको सिनेमा ‘सोल्टिनी’ एक महिना पछाडि धकेलिएको हो ।

यो मितिमा ‘जारी २’ आउने भएपछि ‘सोल्टिनी’को प्रदर्शन मिति सारिएको हो । अब यो सिनेमा भाइटीकाको दिन पारेर कात्तिक ६ गतेबाट प्रदर्शनमा आउनेछ । शुक्रबार सिनेमाको चारवटा पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो ।

चार पोस्टरले सिनेमाको कथावस्तु प्रेम, लिम्बू संस्कृति र ग्रामीण परिवेशमा आधारित रहेको जनाउँछन् । एक पोस्टरमा सिनेमाका मुख्य जोडी प्रकाश सपूत र परीक्षा लिम्बूको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ । परीक्षा प्रकाशको पिठ्यूँमा चढेकी छन् । अर्को पोस्टरमा उनीहरु पानी छेक्न केराको पात आडेर हाँस्दै झोलुङ्गे पुल पार गरिरहेका देखिन्छन् ।

तेस्रो पोस्टरमा परीक्षा लिम्बू जातिको परम्परागत पहिरन र गहनामा सजिएकी छन् । उनको अनुहारमा पीडा भाव झल्किएको छ । पारिवारको दबाबमा उनी विवाह गर्न बाध्य भएको संकेत यो पोस्टरले गर्छ । अर्को पोस्टरमा परीक्षा र प्रकाशसहित सिनेमाका अन्य पात्रहरूलाई पनि समेटिएको छ । यसले प्रेम र द्वन्द्वको संकेत गरेको छ ।

अर्जुन सुवेदीको निर्देशनमा निर्माण भएको सिनेमामा प्रकाश र परीक्षासहित विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतले अभिनय गरेका छन् । अर्जुन सुवेदी र कुमार भट्टराईको लेखन रहेको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । यसमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको ‘सोल्टिनी’का निर्मातामा रेजिना बिस्ट र संसार चौलागाई तथा सह-निर्मातामा रोशन चौलागाई, वसन्त कटुवाल र सुजन अधिकारी अनि कार्यकारी निर्मातामा हर्क साम्पाङ रिभोलुसन एन्ड टिम रहेको छ । यो समूहको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गर्दै आएका छन् ।

यो सिनेमाले दर्शकलाई फरक स्वादको कथासँग जोड्ने निर्देशक सुवेदीले दाबी गरेका छन् । उनका अनुसार सिनेमाले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउँदै दुई पात्रको प्रेमकथा प्रस्तुत गर्नेछ । सिनेमाको छायांकन इलाम, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरमा गरिएको हो ।