चन्द्र पन्तको निर्देशनमा ‘आ बाट आमा’को शुभमुहूर्त गर्दै चितवनबाट छायांकन सुरु

चन्द्र पन्तको निर्देशनमा ‘आ बाट आमा’को शुभमुहूर्त गर्दै चितवनबाट छायांकन सुरु

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘आ बाट आमा’को बिहीबार तनहुँको गलेश्वर मन्दिरमा करिब २ सय बटुकले हवनसहित पूजासहित शुभमुहूर्त गर्दै चितवनबाट छायांकन सुरु गरिएको हो । सिनेमाको शुभमुहूर्त कार्यक्रममा प्रदीप रावत, गजित बिष्ट, माओत्से गुरुङ लगायतको उपस्थिति थियो ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको छायांकन तालिका करिब एक महिनाको रहेको निर्देशक पन्तले बताए । उनका अनुसार चितवन, काठमाडौं र भारतको हैदरावादमा सिनेमा खिचिनेछ । सिनेमामा अभिनेता पल शाह, बलिउड कलाकार प्रदीप रावत, विपना थापा, सिम्रन पन्त, उषा उप्रेतीलगायत मुख्य भूमिकामा देखिनेछन् ।

यो सिनेमाले आमा र सन्तानबीचको स्नेह र सम्बन्धको भावनात्मक कथा बोकेको निर्माण पक्षको भनाइ छ । सिनेमाको निर्मातामा कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने र प्रकाशजंग कुँवर तथा कार्यकारी निर्मातामा करण सिंह छन् । सिनेमामा नवराज उप्रेतीको डिओपी, कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत, मुख्य सहायक निर्देशक कुलदीप शर्मा रहनेछ ।

यो सिनेमा आगामी फागुन १५ गते होलीको अवसरमा देशव्यापी प्रदर्शनमा आउनेछ । निर्माण पक्षका अनुसार सिनेमाको विदेश प्रदर्शन अधिकार अष्ट्रेलिया र न्यूजिल्यान्डमा बिक्री भइसकेको छ । ती देशका लागि वितरण अधिकार हिमारु इन्टरटेन्मेन्टले खरिद गरेको सिनेमालाई नेपालमा आरआर फिल्मस्ले वितरणको जिम्मा लिएको छ ।