द सिनेमा टाइम्स, काठमाडौं । दिनेश राउतको निर्देशनमा लभस्टोरी सिनेमा ‘कुमारी’को घोषणा गरिएको छ । शुक्रबार काठमाडौंको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थियो । सोही कार्यक्रममा सिनेमाका मुख्य कलाकारको रूपमा अबिसेक खड्का र आकृति राजभण्डारीलाई चिनाइयो ।
यो कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्याण्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुतिले थप रौनक थपेको थियो । गायक लिम्बुले यही सिनेमाबाट पाश्र्व गायनमा डेब्यु गर्दै सिनेमाको गीत ‘कहाँ छौ’ प्रस्तुत गरेका थिए । ‘आइ एम सरी’बाट निर्देशन यात्राको सुरुवात गरेका राउतले ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल लभस्टोरी सिनेमाका लागि चिनिन्छन् ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा ‘कुमारी’ निर्माण हुनेछ । महेन्द्र अधिकारी निर्माता रहेको सिनेमाको कथा विकास सुवेदीले लेखेका हुन् । आज आइतबारबाट यो सिनेमाको छायांकन सुरु भएको छ । सिनेमामा अबिसेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहार लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
सिनेमाको संगीत केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीले गर्नेछन् । केहरले सबै गीतमा स्वर दिनेछन् । गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन् । सार्वजनिक पोस्टर डिजाइन रोयल भिमसेनको ट्राइडेन्ट कन्सेप्ट र पोस्टर फोटोग्राफी राजभाई सुवालले गरेका हुन् ।
सुसन प्रजापतिको छायांकन निर्देशन रहने यो सिनेमाको कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत, अन–स्क्रिन कविता रिया अधिकारी, सुप्रिम पराजुलीको रंग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, किरण थापाको कोरियोग्राफी रहनेछ ।



प्रतिक्रिया