बुसानमा नेपाली लघु सिनेमा ‘रिहाना’ वर्ल्ड प्रिमियर हुने

बुसानमा नेपाली लघु सिनेमा ‘रिहाना’ वर्ल्ड प्रिमियर हुने

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय सिनेमा महोत्सव दक्षिण कोरियाको ३०औं संस्करणमा नेपाली लघु सिनेमा ‘रिहाना’ वर्ल्ड प्रिमियर हुने भएको छ । यस वर्षको प्रतिष्ठित सिनेमा महोत्सवमा ‘रिहाना’ एक मात्र नेपाली प्रतिनिधित्व हो ।

महोत्सवले जारी गरेको सूचना अनुसार सिनेमाको विशेष स्क्रिनिङ असोज ५ र ६ गते (सेप्टेम्बर २१–२२) मा हुनेछ । यस पटक महोत्सवका लागि ३,०५९ वटा सिनेमा सहभागी भएका थिए । जसमध्ये उत्कृष्ट १० मा ‘रिहाना’ पर्न सफल भएको हो ।

यो सिनेमाका निर्माता केदार भुसालले यो उपलब्धिले नेपाली कथालाई विश्वसामु पुर्याउने प्रयासलाई निरन्तरता दिएको बताए । ‘नेपालका फरक कथालाई फरक विधामा प्रस्तुत गर्दै विश्वभर पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौं । ‘रिहाना’को बुसान छनोटले मलाई अझ ठुलो हौसला र प्रेरणा दिएको छ ।’

यो सिनेमालाई अ दुम्सी पिक्चर्स प्रोडक्सनले निर्माण गरेको हो । जसमा मिराज मोशन पिक्चर्स, अन्डरग्राउन्ड टकिज र पिक्चर फ्रेमको सहकार्य रहेको छ । सिनेमाको लेखन तथा निर्देशन सुरज पौडेलले गरेका हुन् । यसमा पृथु भट्ट र सृजना अधिकारीको मुख्य भूमिका छ । सिनेमालाई उज्वल बस्ताकोटी, अभिनाश विक्रम शाह र केदार भुसालले मिलेर निर्माण गरेका हुन् । रोशनी अधिकारी यो सिनेमाको कार्यकारी निर्मातामा छिन् ।

शिशिर विशंखेको छायांकन रहेको सिनेमाको सम्पादन गौरव कुमार मुल्लिकले गरेका हुन् । सिनेमाको कास्टिङ निर्देशक मदन श्रेष्ठ साउण्ड डिजाइन र मिक्सिङ डिकेश खड्गी शाही र राम लाल खड्का प्रोडक्सन डिजाइनर छन् । सिनेमाको सह–लेखन शैलेश आरसी (एलएसएम)ले गरेका छन् ।