द सिनेमा टाइम्स, काठमाडौं । आइतबार चलचित्र विकास बोर्डले चाबहिलस्थित आफ्नै भवनमा आयोजना गरेको ‘विशिष्ट सिनेमाकर्मी परिचयपत्र वितरण समारोह’ सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथि रहेको कार्यक्रममा मन्त्रालयकी सचिव राधिका अर्यालको विशेष उपस्थितिमा सिनेमा क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
यो कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले सिनेमाकर्मी परिचय पत्रलाई ‘राष्ट्रले दिएको पहिचान’का रूपमा ग्रहण गर्न आग्रह गर्दै यसले सिनेमाकर्मीलाई छुट्टै गरिमा दिलाउने बताए । ‘परिचय पत्रमा हामीले सक्दो सेवासुविधा दिएका छौं, तर सुविधा नभए पनि यो नै सिनेमाकर्मी भएको पहिचान हो । यसलाई ग्रहण गर्नु आफैंमा गौरवको कुरा हो । आगामी दिनमा थप सेवासुविधा थपिने नै छ,’ उनले भने ।
यो कार्यक्रमका प्रमुख अतिथि मन्त्री गुरुङले सिनेमाकर्मीको योगदानको कदर गर्दै, विशिष्ट सिनेमाकर्मी परिचयपत्र धारीलाई १ लाख ५० हजार बराबरको स्वास्थ्य बीमा, सिनेमाकर्मी परिचयपत्र धारीलाई ७५ हजार बराबरको स्वास्थ्य बीमा उपलब्ध गराइने घोषणा गरेका थिए । मन्त्री गुरुङले सरकार सिनेमा उद्योगको समृद्धिका लागि प्रतिबद्ध रहेको र असोज १५ लाई राष्ट्रिय सिनेमा दिवसको रूपमा भव्यताका साथ मनाउन आग्रह गरेका हुन् ।
अध्यक्ष डिसीका अनुसार २० देखि ३० वर्षसम्म सिनेमा क्षेत्रमा योगदान पुर्याउने सिनेमाकर्मीलाई यसपटक परिचयपत्र प्रदान गरिएको हो । यो कार्यक्रममा अभिनेता विश्व बस्नेत, दीपकराज गिरी, रमेश उप्रेती, दीपाश्री निरौला, जीतु नेपाल, सुनिल थापा, शारदा गिरी, प्रदीपकुमार उदय, पुरुषोत्तम प्रधानसहित ८६ जना सिनेमाकर्मीलाई परिचयपत्र वितरण गरिएको थियो ।
यो कार्यक्रममा अभिनेता बुद्धी तामाङलाई विशेष योगदान सम्मान प्रदान गरियो । सिनेमा चे (लिम्बु भाषा) र सिनेमा दिलसरा (मगर भाषा) लाई २ लाखको प्रोत्साहन रकम हस्तान्तरण गरियो । यो कार्यक्रमको अन्त्यमा अध्यक्ष डिसीले धन्यवाद ज्ञापन गर्दै सिनेमा उद्योगको विकास र सिनेमाकर्मीको सामाजिक-आर्थिक पहिचान सुदृढ बनाउन निरन्तर पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।







प्रतिक्रिया