द सिनेमा टाइम्स, काठमाडौं । अर्जुन घिमिरेको निर्देशनमा तयार भइरहेको सिनेमा ‘झरी पछिको इन्द्रेणी’को गीत ‘धन्य धन्य लोकेश्वर’ हालै रेकर्ड गरिएको छ ।
नेवारी गीत ‘ऐला लुवया’ र ‘सालगु गाचा’बाट चर्चित गायक रोजमान महर्जन र गायिका रत्न शोभा महर्जनको सुमधुर स्वरमा सजिएको यो गीतले नेपाली भक्ति संगीतमा एक नयाँ स्वाद थपेको छ । गीतको संगीत संयोजन सुरेन्द्र श्रेष्ठले गरेका छन् । बाँसुरीमा रुबिन श्रेष्ठ, खिन र मादलमा लक्ष्मी डंगोल, सितारमा राजीव श्रेष्ठ, र गिटारमा पुनः सुरेन्द्र श्रेष्ठकै प्रस्तुति रहेको छ ।
गीतको मिक्सिङ र मास्टरिङ पनि सुरेन्द्र श्रेष्ठले गरेका हुन् भने रेकर्डिङ सुर मेलोडी रेकर्डिङ स्टुडियोमा गरिएको हो । ‘धन्य धन्य लोकेश्वर’ गीतले नेपाली मौलिक बाजा, भक्ति भावना र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै सिनेमाको भावनात्मक गहिराइ थपेको निर्देशक घिमिरेले बताएका छन् ।
यो सिनेमामा बालेनको एउटा विशेष गीत पनि समावेश गरिएको छ । जसले युवापुस्तामाझ उत्साह थप्ने विश्वास गरिएको छ । त्यस्तै, लोकप्रिय गायिका समीक्षा अधिकारीको स्वरमा रहेको अर्को गीत समेत सिनेमामा सुन्न पाइनेछ । यसले सिनेमाको संगीत पक्षलाई अझ बलियो बनाएको छ ।
सामाजिक सन्देश, आध्यात्मिक दृष्टिकोण र सांगीतिक समृद्धिको संयोजन भएको यो सिनेमाप्रति देश–विदेशमा चासो बढिरहेको छ । यही क्रममा सिनेमाको अष्ट्रेलियाको वितरण अधिकार पहिले नै बिक्री भइसकेको निर्माण पक्षले जानकारी दिएको छ । दर्शक तथा संगीत प्रेमीहरूमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको यो सिनेमा निकट भविष्यमा प्रदर्शनको तयारीमा छ ।
शुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भैरहेको सिनेमामा गणेश उप्रेती, आचार्य (मुन्नी), निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतका कलाकारको अभिनय रहनेछ । कुमार व्यञ्जनकार (कुमार बेन)को कथा तथा गणेश कार्की, अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा रहेको सिनेमामा बुद्ध थापाको छायांकन र सुशील कडरियाको लगानी रहनेछ ।


प्रतिक्रिया