इनास अमेरिकाको राष्ट्रिय समितिको अध्यक्षमा श्रीजन ताम्राकार निर्वाचित

इनास अमेरिकाको राष्ट्रिय समितिको अध्यक्षमा श्रीजन ताम्राकार निर्वाचित

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको राष्ट्रिय समितिको अध्यक्षमा श्रीजन ताम्राकार निर्वाचित भएका छन् । शनिवार अमेरिकाको पेन्सिलभेनिया राज्यमा भब्य रुपमा सम्पन्न राष्ट्रिय अधिवेशनले १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका गायक ताम्राकार २०२५/२०२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ताम्राकार सन् ९० को दशकको चर्चित नेपाली पप ब्याण्ड ‘ओकिली’का संस्थापक सदस्य तथा गायक हुन् ।

उपाध्यक्षमा सिनेमा निर्देशक गोपालचन्द्र लामिछाने, गायिका रीता श्रेष्ठ, कलाकार तथा तेक्वादो प्रशिक्षक विकास घले गुरुङ र गायक तथा संगीतकार लक्ष्मण पौडेल निर्वाचित भए । प्रवक्तामा संचारकर्मी तथा साहित्यकार प्रकाश नेपाल, महासचिवमा फोटोग्राफर तथा कार्यक्रम ब्यवस्थापक दिलिप श्रेष्ठ, सचिवमा चिरञ्जिवी गुरागाईं, कोषाध्यक्षमा मोडल मनिष शर्मा र सह-कोषाध्यक्षमा नारायण खकुरेल छन् ।

सदस्यहरूमा अनिल तिमल्सेना, अमिता लामा, राजेश श्रेष्ठ, राजु केसी, विनोद गिरी, तथा सुशान मानन्धर निर्वाचित भएका छन् । राष्ट्रिय समितिको सल्लाहकारमा समाजसेवी श्याम कार्की, समाजसेवी तथा ब्यवसायी अमर छन्त्याल, अभिनेता राजवल्लभ कोइराला, गायिका अञ्जना गुरुङ छन् ।

विभिन्न राज्य समितिका पदाधिकारी र सदस्य पनि निर्वाचित भएका छन् । जसमा केन्टकी राज्य समितिको अध्यक्षमा सनातन रेग्मी, मेरिल्याण्डको अध्यक्षमा गायिका शान्ति भण्डारी, पेन्सिलभेनियाको अध्यक्षमा आलोक कार्की, भर्जिनियाको अध्यक्षमा विश्व पौडेल निर्वाचित भए ।

नयाँ राज्य समितिका रुपमा यसै वर्षदेखि स्थापित इनास न्यूजर्सीको अध्यक्षमा नृत्य निर्देशक कबिना सिंह निर्वाचित भएका छन् । प्रमुख अतिथि तथा ग्लोबल वरिष्ठ उपाध्यक्ष सबु गदाल कार्कीले शुभारम्भ गरेसँगै सम्मेलन सुरु भएको थियो । इनास ग्लोबलका सह-कोषाध्यक्ष कृष श्रेष्ठ, अमेरिका क्षेत्रीय संयोजक गायक कन्हैयासिंह परियार, अध्यक्ष राहुल केसी लगायतले मन्तव्य सहित अधिवेशनको समुद्घाटन गरे ।

यो अवसरमा अमेरिका भ्रमणमा रहेका सिनेमा निर्देशक सुदर्शन थापा, स्थानिय सामाजिक संस्था ग्लोबल भुटनिज अर्गनाइजेसन, वरिष्ठ रचनाकार अगोम गुरुंग, भ्वाइ किड्सको तेस्रो सिजनका विजयी प्रतिभा अन्हुया तामाङलाई सम्मान प्रदान गरियो ।

अमेरिकामा निर्माण गरिएको वेब-सिरिज ‘घर बट् इन अमेरिका’को समूहलाई विशेष सम्मान प्रदान गरियो । कार्यक्रममा सिनेटर जेबी जेनिङ्सको तर्फबाट फिल्म निर्देशक सुमन दाहाल, गायिका स्वरुपा रसाइली र प्रकाश नेपाललाई साइटेसन प्रदान गरिएको थियो ।

कार्यक्रममा इन्ट्रा फाउन्डेसन (ह्यारिसबर्ग, लेनकास्टर समूह), भुटनिज किराँती राई अफ अमेरिका (ह्यारिसबर्ग ग्रुप), गुरुड कम्युनिटी अफ ग्रेटर ह्यारिस बर्ग (आमा समूह), रेड ओसियन मल्टी एकेडेमी (कार्लय), टाक्स कराँते (ल्यानकास्टर) लगायत विभिन्न राज्य, स्थाीय संघसंस्था र समुदायका साथै राष्ट्रियस्तरका चर्चित कलाकारको सहभागिता र आकर्षक सांगीतिक र सांस्कृतिक प्रस्तुति रहेको थियो ।

अध्यक्ष राहुल केसीले उपस्थित सबैलाई धन्यवाद दिँदै मन्तव्यसहित नयाँ कार्यसमिति सन् २०२५/२०२७ का सबै राष्ट्रिय तथा राज्य समितिका नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामनासहित सन् २०२३/२०२५ को समितिलाई बिघटन गरेका थिए ।

नवनियुक्त राष्ट्रिय अध्यक्ष ताम्राकारले नेपाली भाषा, कला, संस्कृति संरक्षण र प्रवर्धनमा समर्पित अमेरिका भर छरिएर रहेका सबैलाई गोलबन्द गरी सबैलाई संस्थामा सहजै जोडिने वातावरण बनाउने बताए ।

इनासको यस राष्ट्रिय अधिवेशनको पहिलो चरणको संस्थागत कार्यक्रम प्रकाश नेपाल र दोस्रो चरणको विविध सांस्कृतिक कार्यक्रम सन्देश कुमार खडकाले संचालन गरेका थिए ।