प्रकाश कर्णको निर्देशन तथा सौगातको मुख्य भूमिकामा ‘जुबा’ बन्ने

प्रकाश कर्णको निर्देशन तथा सौगातको मुख्य भूमिकामा ‘जुबा’ बन्ने

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सौगात मल्लको मुख्य भूमिकामा सिनेमा ‘जुबा’ बन्ने भएको छ । प्रकाश कर्णको लेखन तथा निर्देशनमा निर्माण हुने सिनेमाको बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको हो ।

वर्षा पौडेलको पटकथा लेखन रहेको यो सिनेमाबाट अभिनेत्रीको रूपमा सोफी धरेल डेब्यु गर्दैछिन् । सुधन पोखरेलको पनि सिनेमामा अभिनय रहने निर्माण घोषणा कार्यक्रममा जानकारी गराइयो । अभिनयको हिसाबले सुधनको यो तेस्रो सिनेमा हुनेछ ।

रक क्यास्टर स्टुडियोको ब्यानरमा निर्माण हुन लागेको सिनेमाको घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरिएको छ । पहिलो पोस्टरमा सौगात क्यामेराको अगाडि घुँडा टेकेर प्रार्थना गरिरहेका देखिन्छन्, जसले सिनेमामा उनी अभिनेताको भूमिकामा देखिन लागेको संकेत गर्छ ।

दोस्रो पोस्टरमा सौगातलाई पिसिओ (टेलिफोन बुथ)भित्र फोन गर्दै गरेको देखाइएको छ भने त्यसको बाहिर सोफी रिसाएको भावमा उभिएकी छन् । तेस्रो पोस्टरमा भने सुधन पोखरेललाई खलनायकको रूपमा प्रस्तुत गरिएको छ । यी तीन पोस्टर हेर्दा सिनेमाको कथा दुई दशकअघिको समय सन्दर्भमा आधारित रहेको अनुमान गर्न सकिन्छ ।

अस्त्र फिल्मस्को प्रस्तुतिमा निर्माण हुने सिनेमा क्रिएटिभ निर्मातामा निर्देशक कर्ण र पटकथा लेखक वर्षा दुवै छन् । सिनेमाको कथावस्तु, अन्य कलाकार तथा प्राविधिक पक्षबारेमा भने निर्माण टिमले केही पनि खुलाएको छैन् ।