द सिनेमा टाइम्स, काठमाडौं । छक्का पन्जा युएसए कमेडी टुर २०२५ को आयोजना हुने भएको छ । आत्रेय प्रोडक्सन हाउस र ग्लोबल इभेन्ट्सको संयुक्त प्रस्तुतीमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच यसको घोषणा गरिएको हो ।
नेपालबाट यो कार्यक्रमको संयोजन कोरेभेक्स सोलुसनको तर्फबाट हर्षित घिमिरेले गरिरहेका छन् । अमेरिकामा सुदिप आत्रेय र सुमन अधिकारिले गरिरहेका छन् । आगामी सेप्टेम्बर १९ मा बाल्टिमोरबाट सुरु हुने कार्यक्रम विभिन्न १५ स्थानमा हुनेछ । हरेक बर्ष हुने डालस मोःमो फेस्टिभलमा यो बर्ष करिव १५ हजार दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको छ ।
यो कमेडी टुरमा ‘छक्का पन्जा’ टिमको तर्फबाट दिपकराज गिरी, दिपाश्री निरौला र जितु नेपाल सहभागी हुनेछन् । यता, कलाकार तथा होस्ट आसिफ शाह, गायीका मिना पोख्रेल र धर्मेन्द्र सेवान पनि यो टुरमा सहभागी हुदैछन् । केहि समय अगाडी आत्रेय प्रोडक्सन हाउसले प्रकाश सपुतसहितको बिशेष सांगीतिक कार्यक्रम सम्पन्न गरेको थियो ।
नेपाली सिनेमाको अमेरिका वितरण तथा म्युजिक भिडीयो निर्माणमा पनि सक्रिय रहेको कम्पनीले यो पटकको यात्रालाई अझ बिशेष बनाउने तयारी गरिरहेको छ ।
करिव १५ बर्षपछि अमेरिका जान लागेका दीपक भन्छन्, ‘अमेरिकाका हरेक शहरमा हाम्रा सिनेमा हेर्ने दर्शक हुनुहुन्छ । हरेक बर्षको दशैंमा हाम्रो सिनेमा दर्शकले हेर्नुहुन्थ्यो । यो पटक हाम्रो सिनेमा रिलिज छैन् त्यहि भएर दर्शक भेट्न र उहाँहरुलाई धन्यवादसहित ‘छक्का पन्जा’को प्रत्यक्ष मज्जा दिनको लागी हामी यो यात्रामा सहभागी हुदैछौं ।’
निर्देशक तथा अभिनेत्री दिपाश्री निरौल उत्साहितसँगै केहि नर्भस सुनिएकी थिइन् । दिपा भन्छिन्, ‘धेरै बर्ष भयो स्टेजमा प्रस्तुती नगरेको सोहि कारण केहि नर्भस छु तर दर्शकलाई भेट्न र उहाहरुसँगै यो बर्षको दशैँ मनाउन उत्साहित छु ।’
अर्का अभिनेता जीतु नेपालको उत्साह प्रष्ट सुनिएको थियो । यो पटकको दशैँमा छक्का पन्जा कमेडी टुर हुँदैछ । दर्शकसंगै प्रत्यक्ष भेट्न, दशैँ मनाउन र हाम्रो प्रस्तुतीमा रमाउन उत्साहित छु ।


प्रतिक्रिया