द सिनेमा टाइम्स, काठमाडौं । भदौ २३ गते सोमबारबाट नेपालको राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा भएको जेनजी पुस्ताको आन्दोलनमा राज्यद्वारा गरिएको बल प्रयोगका कारण भएको दुःखद घटनाप्रति बाँसुरी फिल्म्स प्रालिले गहिरो शोक व्यक्त गरेको छ।
कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा संलग्न युवाको निधन भएको खबरले आफूहरू अत्यन्त मर्माहित भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘हामी दिवंगत आत्माहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं र आवश्यक सहयोगका लागि पहल गर्न प्रतिबद्धता व्यक्त गर्दछौं।’
बाँसुरी फिल्म्सले शासक वर्गले गरेको बल प्रयोग इतिहासकै गलत निर्णय भएको उल्लेख गर्दै भ्रष्टाचार र कुशासनविरुद्ध उठेका युवाको आवाजलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी राज्यलाई कमसेकम विवेक, नैतिकता र मानवता देखाउन आग्रह गर्छौं। शान्तिपूर्ण बाटोबाट समाधान खोज्दै नागरिकको आवाजलाई सम्मान गर्न आग्रह गर्दछौं।’
कम्पनीले शान्ति, न्याय र लोकतन्त्रलाई कायम राख्ने आफ्नो सामूहिक प्रतिबद्धता दोहोर्याउँदै शोकको यस घडीमा आफ्ना सबै मनोरञ्जनात्मक गतिविधिहरू अनिश्चितकालसम्म स्थगित गर्ने जानकारी पनि दिएको छ।



प्रतिक्रिया