द सिनेमा टाइम्स, काठमाडौं । गत भदौ २० गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘रिमै’को प्रदर्शन स्थगित गरिएको छ । सिनेमाको निर्माण कम्पनी गोरखा सिरानचोक एण्ड लिगलिगकोट प्रालिले मंगलबार एक विज्ञप्ती जारी गर्दै हाल चलिरहेको बिषम परिस्थिति सामान्य नहुन्जेलसम्मका लागि प्रदर्शन स्थगित गरिएको जानकारी दिएको हो ।
हाल देशभर सिनेमा घर, वितरक तथा प्रदर्शनकर्ताले संयुक्त निर्णय गर्दै सिनेमाको प्रदर्शन तत्कालका लागि रोकेको जानकारी दिइएको हो।
हालैको राजनीतिक आन्दोलनका क्रममा जेनजी पुस्ताद्वारा नेतृत्व गरिएको आन्दोलित वातावरण, राज्यको दमन तथा निरन्तर हुने क्षतिका कारण सिनेमा प्रदर्शन नगर्ने निर्णय गरिएको हो। सार्वजनिक विज्ञप्ती भनिएको छ, ‘यस परिस्थितिमा फिल्मको प्रचार-प्रसार वा प्रदर्शन गर्नु उपयुक्त नहुने भएकाले हामीले प्रदर्शन रोक्ने निर्णय गरेका हौँ।’
आन्दोलनकै क्रममा ज्यान गुमाएका युवाप्रति सिनेमा परिवारले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।
सिनेमा ‘रिमै’को प्रदर्शन पुनः सुरु गर्ने विषयमा भने परिस्थिति सामान्य भएपछि मात्र निर्णय गरिने पत्रमा उल्लेख छ। सिनेमा परिवारले दर्शक, सिनेमा घर र वितरकलाई धैर्य र सहयोगका लागि आभार व्यक्त गरेको छ।



प्रतिक्रिया