जेनजी आन्दोलनको कारण बन्द देशभरका सिनेमा हल सोमबारदेखि संचालनमा आउने

जेनजी आन्दोलनको कारण बन्द देशभरका सिनेमा हल सोमबारदेखि संचालनमा आउने

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत भदौ २३ र २४ गते नेपालमा चर्किएको जेनजी आन्दोलनको कारण बन्द रहेका देशभरका सिनेमा हल सोमबारदेखि संचालनमा आउने भएका छन् । आज आइतबार बसेको नेपाल चलचित्र संघको बैठकले दर्शक र हलको सुरक्षामा ध्यान दिँदै सिनेमा हल संचालनमा ल्याउने निर्णय गरेको हो ।

देशका विभिन्न स्थानमा तोडफोड र आगजानीबाट ध्वस्त विराटनगरस्थित क्यूएफएक्सको हलबाहेकका अन्य १६४ वटै हल संचालनमा आउनेछन् । विराटनगरस्थित भाटभटेनीमा आगजनी हुँदा त्यहाँ रहेको देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सको हल पूर्ण रुपमा जलेको छ । जसबाट १५ करोड क्षति भएको छ । बुटवल र भक्तपुरको भाटभटेनीमा रहेको क्यूएफएक्स हलको टिकट काउन्टर पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

यता, देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाज नयाँ बसपार्कस्थित ल्होत्से मलको बाहिर रहेको टिकट काउन्टरमा पनि आगजनी र तोडफोड भएको छ । यो मलमा भएको आगजनीका कारण हलको उपकरणमा समेत असर परेको जनाइएको छ । आन्दोलनको क्रममा प्रदर्शनकारीले काठमाडौंको बालाजुमा रहेको अष्टनारायण हलमा पनि तोडफोड गरेका थिए ।

हल व्यावसायीको छाता संस्था नेपाल चलचित्र संघले केही सर्तसहित हल खोल्न लागिएको अध्यक्ष नरेन्द्र महर्जनले बताए । निर्माता तथा संघका अध्यक्ष महर्जनका अनुसार स्थानीय सुरक्षा निकायलाई जानकारी दिएर हल संचालनमा ल्याइनेछ ।

हल संचालनमा आएसँगै यसअघिदेखि नै प्रदर्शनरत सिनेमाहरू ‘रिमै’, ‘बागी ४’, ‘कोशेढुंगा’, ‘मोहर’लगायतका सिनेमा प्रदर्शनरत थिए । भोलीबाट पुनः हल सञ्चालनमा आएसँगै यी सहित केही विदेशी सिनेमा समेत रिलिजको तयारी भैरहेको संघका अध्यक्ष महर्जन छ ।

सोमबारदेखि हल खुल्ने भएपछि हल संचालक सरसफाइमा जुटेका छन् । भ्रष्टाचार र बेथितीविरुद्ध जेनजीले २३ भदौमा देशभर प्रदर्शन सुरु गरेका थिए । थुप्रै हताहत हुने गरी सरकारले दमन गरेपछि भोलिपल्ट समेत प्रदर्शन भयो । उक्त प्रदर्शनमा सरकारी र व्यवसायिक संरचनामा आगजानी र तोडफोड गरिएको थियो ।