भदौ २७ बाट पोष्टपोण्ड भएको ‘अभिमन्यु’ दशैंको फूलपातीमा रिलिज हुने

भदौ २७ बाट पोष्टपोण्ड भएको ‘अभिमन्यु’ दशैंको फूलपातीमा रिलिज हुने

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी दशैंको फूतपाती अर्थात् असोज १३ गतेबाट गत शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको सिनेमा ‘अभिमन्युः च्याप्टर वान’ पनि प्रदर्शनमा आउने भएको छ । सस्पेन्स थ्रिलर जनरामा सिनेमाको निर्माण कम्पनी सेभेन सिज सिनेमाले सोमबार एक विज्ञप्ति जारी गर्दै नयाँ प्रदर्शन मिति दशैंको फूलपाती घोषणा गरेको हो ।

यसअघि यो सिनेमाको देशमा चर्किएको जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न असामान्य परिस्थितिका कारण निर्माण पक्षले रिलिज स्थगन गरेको थियो । फूलपातीमा ‘अभिमन्यु’ पनि आउने भएपछि बक्सअफिसमा अब चार नेपाली सिनेमाबीच भिडन्त हुने भएको छ । यो मितिमा ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ पनि प्रदर्शनको तयारीमा छन् ।

फूलपातीमा प्रदर्शन हुने तीन सिनेमाका निर्मातासँग क्षमायाचना माग्दै विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो कुनै पनि टिमसँग जुधाउने वा प्रतिस्पर्धा गर्ने नियत कहिल्यै पनि थिएन । हामी कुनै टिमसँग भिड्न आएका होइनौं, समय र परिस्थिति नै यस्तो बन्यो ।’ ‘अभिमन्यु’को हिन्दी भर्सन विजयादशमीको दिन अर्थात् असोज १६ गते रिलिज हुने विज्ञप्तिमा उल्लेख छ ।

सुशान्त गौतमको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा कामेश्वर चौरासिया, शिशिर वाङ्देल, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ लगायतको अभिनय छ । शरद महतोको छायांकन रहेको सिनेमाका निर्माता विनोद पौडेल र गुञ्जन गिरी तथा रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता हुन् । विनोद र रमेशको टिमले यसअघि सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण गरेको थियो ।