‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा रिलिज हुने

‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा रिलिज हुने

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमा ‘हरिबहादुरको जुत्ता’ नेपालमा घोषित मिति मै रिलिज हुने भएसँगै अमेरिका प्रदर्शन पनि पक्का भएको छ । अमेरिकाका ८० पर्दामा यो सिनेमा रिलिज हुने वितरक कम्पनी इन्टरटेनमेन्ट एलएलसीले जनाएको छ ।

यो कम्पनीका प्रमुख आहाना पौडेल हुन् । यही सिनेमाबाट वितरणमा डेब्यु गर्न लागेका उनी वितरक उज्वल पौडेलका छोरा हुन् । टेक्सासमा बसोबास गर्दै आएका आहानाले ‘हरिबहादुरको जुत्ता’ अमेरिकाको बक्सअफिसमै रिलिज हुने जानकारी दिए ।

यो सिनेमालाई अमेरिकाका ठूला मल्टीप्लेक्स चेनहरू सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज, एप्पल सिनेमाजमा रिलिज गर्ने तयारी भइरहेको आहानाले बताए ।

अमेरिका वितरक पौडेलका अनुसार टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड लगायतका राज्यमा सिनेमा रिलिज हुनेछ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यो सिनेमाको टिजर र दुई गीत ‘बेला बितेसी’ र ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भएपछि अमेरिकामा दर्शकको चासो उल्लेख्य बढेकाले व्यापार राम्रो हुने अपेक्षा वितरक टिमको छ ।

सिनेमामा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपूत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ । सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यो सिनेमामा कृष्ण बहादुर थापाको छायांकन र नहकुल खड्काको सम्पादन रहेको छ ।