दीपकप्रसाद आचार्यको ‘परान’ फर्स्टलुक सार्वजनिक, कार्तिक १४ मा देशव्यापी प्रदर्शन

दीपकप्रसाद आचार्यको ‘परान’ फर्स्टलुक सार्वजनिक, कार्तिक १४ मा देशव्यापी प्रदर्शन

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । हास्य कलाकार दीपकप्रसाद आचार्य (काकु) को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘परान’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बिहीबार फर्स्टलुक सार्वजनिक गर्दै आगामी कार्तिक १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने घोषणा गरिएको हो ।

सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय महेश त्रिपाठी र अञ्जना बराइलीलाई प्रस्तुत गरिएको छ । यो पोस्टरमा यी दुई एकअर्काको अंगालोमा देखिएका छन् । अञ्जनाको सिउँदोमा सिन्दुर देखिनुले उनीहरू विवाहित जोडीको रूपमा रहेको संकेत गर्दछ । यद्यपि, निर्माणपक्षले यसबारे खुलाएको छैन् ।

पोस्टरमा महेश केही गम्भीर मुद्रामा छन् भने अञ्जना उनको छातीमा टाउको अड्याएर शान्त र कोमल भावमा प्रस्तुत भएकी छिन् । महेशको आँखामा देखिएको गम्भीरताले उनीहरूको सम्बन्धमा कुनै चुनौती वा उतार चढावको संकेत गर्छ ।

सिनेमाको ट्यागलाइन ‘सासले हैन, साथले चल्ने’ राखिएको छ । जसले सिनेमाको मुख्य सार वा सन्देश प्रस्तुत गर्छ । यसले जीवनमा भौतिक अस्तित्व (सास) भन्दा भावनात्मक साथ र सम्बन्धको महत्वलाई दर्शाउन खोजेको बुझ्न सकिन्छ ।

देशकै प्रतिष्ठित व्यवसायीक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको व्यानरमा यो सिनेमा निर्माण भएको हो । यो ब्यानरमा निर्माण भएको पहिलो प्रोजेक्ट ‘परान’ हो । बाइस्कोप सिनेमाका प्रबन्ध निर्देशक रन्जीत आचार्य हुन् ।

सिनेमामा महेश र अञ्जनासहित नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारको अभिनय छ ।

दीपक आचार्यकै कथा रहेको सिनेमाको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन् । निर्देशक आचार्यले फर्स्टलुक सार्वजनिक भएसँगै सिनेमाको प्रचार सुरू भएको बताए । उनले भने, ‘अहिलेसम्म सिनेमालाई कसरी हुन्छ राम्रो बनाउनमै ध्यान दियौं । पोस्ट प्रोडक्सनको काम लगभग अन्तिम चरणमा पुगेको छ । अब तीव्र रूपमा प्रचार प्रसारमा लाग्छौं ।’

रिदम कंडेलको संगीत रहेको सिनेमाका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालले स्वर दिएका छन् । शिवराम श्रेष्ठको डिओपी रहेको सिनेमा मित्र डि गुरूङले सम्पादन गरेका हुन् ।