द सिनेमा टाइम्स, काठमाडौं । ओस्कार अवार्डको ९८ औं संस्करणको लागि नेपालबाट मिलन चाम्स निर्देशित सिनेमा ‘अञ्जिला’ले प्रतिनिधित्व गर्ने भएको छ । अमेरिकामा सन् २०२६ मा ओस्कार अवार्डको आयोजना हुनेछ ।
नेपालको अन्तर्राष्ट्रिय फिचर सिनेमा छनोट समितिले ‘अञ्जिला’लाई ओस्कारका लागि सिफारिस गरेको हो । समितिका अनुसार ‘अञ्जिला’ले अन्तर्राष्ट्रिय फिचर सिनेमा विधामा प्रतिस्पर्धा गर्नेछ ।
यो समितिका अध्यक्ष विमल पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गहन मूल्यांकन पश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखेर ‘अञ्जिला’लाई छनोट गरिएको हो ।’
ओस्कारमा सहभागी हुन ‘अञ्जिला’सँगै समुन्द्र भट्ट निर्देशित तथा नाजिर हुसेन अभिनित ‘गुन्यो चोलो’का निर्माताले पनि आवेदन दिएका थिए ।
मिलन चाम्सको निर्देशित सिनेमा ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवन संघर्षमा आधारित छ । यसमा एञ्जिला स्वयंले मुख्य भूमिका निर्वाह गरेकी छन् । सिनेमामा उनीसहित दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुनिल थापा लगायतको अभिनय छ । यो सिनेमाका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् ।



प्रतिक्रिया