द सिनेमा टाइम्स, काठमाडौं । त्यागमूर्तिको लेखन तथा निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘चिराग’ आगामी मंसिर ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । ‘आशाको चिराग कहिल्यै निभ्दैन’ भन्ने ट्यागलाइन राखेर निर्माण गरिएको सिनेमाको सोमबार घटस्थापनाको दिन पारेर फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।
सिनेमाको सार्वजनिक पोस्टरमा एक पुरुष पात्रलाई महिलाको पहिरन र सिंगारपटारमा प्रस्तुत गरिएको छ । उनी भूइँमा लडेको अवस्थामा छन् भने अनुहारमा कसैले जुत्ता लगाएको खुट्टाले थिचेको देखिन्छ । यसले सिनेमाको कथा पहिचान र अस्तित्वको संघर्षसँग सम्बन्धित हुनसक्ने संकेत गर्छ । यद्यपि, निर्माण टिमले कथावस्तुबारे खुलाएको छैन् ।
सिनेमामा सुशील पोखरेल, प्रज्ञा जोशी, सुभास गजुरेल, शेर बहादुर डिसी, सापटी काका (मेरी बास्सै), मिनाक्षी खनाल, संकला गौतम, माधव खनाल, एमके आचार्य, सागर खरेल (बाल कलाकार) लगायतको अभिनय रहेको छ । सिनेमाका निर्माताहरु निर्देशक त्यागमूर्तिसहित संकला गौतम र नरेश प्रसाद भट्ट हुन् ।
करिब डेढ करोडको लगानीमा निर्माण भएको यो सिनेमामा निर्देशक त्यागमूर्ति स्वयंको संगीत तथा कोरियोग्राफी रहेको छ । महफूज अंसारी र राहुल राईको छायांकन, सुभास देवकोटाको सम्पादन, लोकनाथ सापकोटाको ब्याकग्राउन्ड म्यूजिक, डिके हमालको शृङ्गार र कल्पेश विश्वकर्माको रंग संयोजन तथा पोस्टर डिजाइन सिनेमामा रहेको छ ।



प्रतिक्रिया