द सिनेमा टाइम्स, काठमाडौं । आगामी असोजको १३ गते बडादशैं फूलपातीबाट प्रदर्शनमा आउने सिनेमाम ‘माइतीघर’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । यो सिनेमाको बुधबार बेलुकी सेन्सर भएको हो ।
सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएसँगै यो सिनेमालाई सवै उमेर समुहका दर्शकले सजिलै हेर्न पाउनेछन् । यो सिनेमाले प्रचार सामाग्री मार्फत् दर्शकमाझ बनाएको हाइपका कारण व्यापारिक रुपमा सुखद ओपनिङ गर्ने अपेक्षा निर्माण टिमको छ ।
सेन्सर बोर्डमा सिनेमा हेरेपछि यसको कथावस्तु, प्रस्तुति र कलाकारहरुको विषयमा कुराकानी समेत भएको थियो । सेन्सरका अधिकांश कर्मचारीहरुले लामो समयपछि एउटा उत्कृष्ट पारिवारिक सिनेमा हेर्न पाएको बताएका थिए । सिनेमा कमेडी, पारिवारिक र भावनासँग जोडिएको भन्दै सेन्सरका कर्मचारीहरुले तारिफ गरेको निर्माणपक्षले बताएको छ ।
सिनेमाका निर्माता रोहित अधिकारीले पनि दर्शक यसपटक निराश नहुने बताउँदै आएका छन् । यो सिनेमाको बुकिङ समेत खुलिसकेको छ । यो सिनेमाले देशभरका हलमा सय बढी शोज पाइसकेको छ । अझैपनि केही हलमा शोज खुल्न बाँकी नै छ । सिनेमालाई बिहान सवा ५ बजेदेखि बेलुकीसम्म अधिकांश हलले शोज दिएका छन् ।
जसले सिनेमाप्रति दर्शकको क्रेज रहेको वुझ्न सकिन्छ । सिनेमाको ट्रेलर र शीर्ष गीतले दर्शकको ध्यान तानिसकेको छ । सिनेमामा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।
रोहित अधिकारी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा रविन शेरचन र धिरज तामाङ तथा कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुवाल छन् । रामशरण पाठकले लेखेको यो सिनेमाको कथावस्तुलाई दर्शकले मन पराउने र बलियो वर्ड अफ माउथ आउने अपेक्षा गरिएको छ ।
सिनेमामा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ । सिनेमाका सह-सम्पादक अंकित तिवारी हुन् । सिनेमाले तामाङ संस्कृतिको कथालाई पनि बलियो रुपमा उठाएको छ । स्वर्गीय जयदेवको संगीत रहेको सिनेमामा कविराज गहतराजको र किरण थापाको कोरियोग्राफी, समिर मिया र सत्यम रानाको भीएफएक्स, साहिल खानको ट्रेलर, अष्ट महर्जनको एक्सन छ ।



प्रतिक्रिया