चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’को छायांकन २५ दिनमा सकियो

चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’को छायांकन २५ दिनमा सकियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण भएको दोस्रो सिनेमा ‘आ बाट आमा’को सम्पूर्ण छायांकन सकिएको छ । शुक्रबार काठमाडौंमा अन्तिम दृश्य खिच्दै २५ दिनमा सिनेमाको छायांकन पूरा भएको हो ।

निर्देशक चन्द्र पन्तका अनुसार दशैंपछि यो सिनेमाको पोस्ट प्रोडक्सनको काम सुरु हुनेछ । सिनेमाको छायांकन सकिएसँगै निर्देशक पन्तले आफ्नो अर्को सिनेमामा अभिनेता पल शाहलाई अनुबन्ध गरेका छन् । शुक्रबार साँझ दुई पक्षबीच लिखित सम्झौता भएको हो ।

‘आ बाट आमा’मा पल स्वयं मुख्य भूमिकामा छन् । उनको मेहनत र लगनशीलता देखेर पुनः सिनेमामा सहकार्य गर्न लागेको निर्देशक पन्तले बताए । सिनेमाको नाम भने फाइनल हुन बाँकी रहेको उनको भनाई छ । कलाकार र प्राविधिकको मेहनतका कारण निर्धारित समयभन्दा ५ दिन अगावै छायांकन सकिएको निर्देशक पन्तले बताए ।

चितवन र काठमाडौंमा छायांकन भएको ‘आ बाट आमा’मा पलसहित प्रदीप रावत (गजनी भिलेन), विपना थापा, गजित बिष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती लगायतको पनि अभिनय रहेको छ । यसमा विपना र प्रदीपले पलको आमा-बुबाको भूमिकामा अभिनय गरेका छन् । प्रदीपले ‘ह्रस्व दीर्घ’पछि अभिनय गरेको यो दोस्रो नेपाली सिनेमा हो ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको आमा र सन्तानबीचको माया ममता तथा स्नेहको कथा बोल्ने सिनेमामा नवराज उप्रेतीको डिओपी तथा कोशिश क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ । आगामी फागुन १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो सिनेमाको छायांकन अगावै अस्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।