द सिनेमा टाइम्स, काठमाडौं । असोज १३ गते भोली बडादशैंको फूलपातीमा रिलिज हुने सिनेमा ‘बलिदान’ निर्माण टिमले आज आइतबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । सिनेमाको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक सन्तोष सेन, अभिनेता समीर भट्ट, अभिनेत्री ऋचा शर्मा, निर्माता पवन बिष्ट र कार्यकारी निर्माता प्रेम पुरी लगायतको टिम उपस्थित थिए ।
सिनेमाको बारेमा जानकारी दिँदै निर्माता तथा निर्देशक सेनले आफुलाई मसला र लभस्टोरी बाहेकका कन्टेन्ट बेस्डमा काम नगरेका आरोप ‘बलिदान’बाट चिरिने बताए । यो सिनेमाको बजेट ६ करोड माथि भएको दाबी निर्देशक सेनले गरेका छन् ।
सिनेमाको पत्रकार भेटघाट कार्यक्रममा ‘कति हो सिनेमाको बजेट ?’ भन्ने प्रश्नमा सेनले भने, ‘छ करोड प्लस हो ।’ अझैं खर्च हुने ठाउँहरु प्रशस्तै रहेकाले ठ्याक्कै यति नै हो भनेर भन्न नसके पनि ६ करोडमाथि जाने सेनले बताए ।
पछिल्लो समय नेपाली सिनेमाका निर्माताले टिकट किन्ने ट्रेण्ड छ नी भन्ने प्रश्नमा सेनले भने, ‘आफूले भने टिकट किनेर सिनेमा चलाउनेबारे कल्पना समेत गर्न नसक्ने बताए । आफैंले टिकट किनेर सिनेमा चलाउनेबारे म कल्पना समेत गर्न सक्दिनँ । दुई तीन वर्ष लगाएर रगत, पसिना बगाएर काम गरेको छु । नियत सफा हुनुपर्छ, दर्शकको माया पाइहालिन्छ नि । त्यत्रो रकमको टिकट कसरी किन्नेबारे आफूलाई थाहा नभएको किने पनि सिट खाली भयो भने काम भएन ।’
यता, सिनेमाका अभिनेता समीर भट्टले ‘बलिदान’ सुटिङको दौरान घाइते भएको खुलासा गरेका थिए । आइतबार आयोजित सिनेमाको पत्रकार भेटघाट कार्यक्रममा सुटिङको अनुभव सेयर गर्दै अभिनेता भट्टले घाइते भएको बताएका हुन् । सिनेमा रिलिजको संघारमा पुग्दा दर्शकको प्रतिक्रिया राम्रो पाइरहेकाले उत्साहित रहेको बताए ।
अभिनेता भट्टले भने, ‘क्लाइमेक्सको फस्ट सटमा पन्च हान्नुपर्ने थियो । तर, चिप्लिएर मेरो खुट्टा मर्कियो । सामान्य मर्काइ थिएन, नराम्रोसँग नै मर्कियो । एकजना आयुर्वेदिक उपचार गर्नु हुने दिदीले पट्टी लगाइदिनुभयो । त्यही पट्टीसँगै मैले सिनेमाको सुट गरेँ ।’ खुट्टा मर्किए पनि आफूले सिनेमाको सुटिङ सकाएको थिए ।
अभिनेता समीर भट्टले अगाडी भने, ‘म हरेक सिनेमामा फरक भूमिकामा काम गर्न रुचाउने मान्छे हो । मेरो डेव्यु सिनेमा ‘१२ गाउँ’ र यो सिनेमा ‘बलिदान’को क्यारेक्टर पूर्ण रुपमा भिन्न छ । १२ गाउँमा शोअप गर्नु पर्ने युवाको भूमिकामा देखिएको थिए । यसमा म एक माझि परिवारमा हुर्केको माछा माने युवाको भूमिकामा छु । एक माझि युवा कसरी देश परिवर्तनको संवाहक बन्छ भन्ने कथा सिनेमाले देखाउनेछ ।’
सन्तोष सेन निर्देशित यो सिनेमामा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारको अभिनय रहेको छ ।
निर्माण पक्षका अनुसार सिनेमाले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ भने हल सञ्चालकको मागअनुसार यो संख्या ३०० सम्म पुग्ने सम्भावना छ । अग्रिम टिकट बिक्री सुरु भएसँगै दर्शकको उत्साह उच्च देखिएको छ ।
आसुसेन फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।


प्रतिक्रिया